नेपालले भाेलि चाइनिज ताइपेईसँग खेल्दै, कुवेतकाे गर्मी पनि चुनाैती

 जेठ १९, २०७८ बुधबार १९:५०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – कतारमा हुने सन् २०२२ काे विश्व कप तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत बिहीवार (भोलि) नेपालले पहिलो खेलमा चाइनिज ताइपेईकोसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपालले भोलि पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई बलियाे राख्न चाहन्छ । 

विश्व कप छनोट अन्तर्गत समूह 'बी' मा चार घरबाहिर र एक घरमा गरी नेपालले अहिलेसम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अङ्क बनाएको छ । कुवेतमा रहेकाे जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशाला चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा नेपाल त्यही नतिजालाई निरन्तरता दिँदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई बलियाे राख्न चाहन्छ ।

तर कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ । त्यही विषयलाई पनि प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले खेलअघि बताउनुभएकाे छ ।

यसअघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिवार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्यधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपालले बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्गबाट कुवेत प्रस्थान गरेको थियो ।

नेपाल भोलि चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा उच्च मनोबल बनाउनेछ । चाइनिज ताइपेई पनि अघिल्लो खेलमा भोगेको हार बिर्सन लक्ष्यका साथ नेपालविरुद्ध मैदान उत्रिनेछ । चाइनिज ताइपेईका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड–१९ सङ्क्रमित भएपछि टोली केही महत्त्वपूर्ण खेलाडीविना नै कुवेत भ्रमणमा निस्किएको बताउनुभएकाे छ । त्यही कारण पनि नेपालको मनोबल उच्च रहनेछ ।  

छनोट चरणको पहिलो खेलमा जोर्डनलाई सात–शून्यकाे नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई दुई–शून्यले हराएको थियो । तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग पाँच–शून्यले र चौथो खेलमा जोर्डनसँग तीन–शून्यले पराजित भएको थियो । घरकाे खेलकाे रूपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रूपपा रहेको भुटानमा कुवेतसँग एक–शून्यले पराजित भएको थियो ।

फिफा वरीयताको एक सय ४१ औँ स्थानमा रहेको चाइनिज ताइपेई र एक सय ७१ औँ स्थानमा रहेको नेपाल अहिलेसम्म दुई पटक आमनेसामने भएका छन् । पहिलो खेल सन् २०१९ जुन ६ मा दशरथ रङ्गशालामा भएको थियो । मैत्रीपूर्ण त्याे खेलमा एक–शून्यले पछि परेकाे अवस्था उल्ट्याँदै नेपालले एक–एक को बराबरी खेलेको थियो । दोस्रो पटक सन् २०१९ सेप्टेम्बर १० मा चाइनिज ताइपेईको मैदानमा विश्व कप छनोटमा प्रतिस्पर्धा भएकाे थियाे । त्याे खेल नेपालले दुई–शून्यले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।     

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया