निषेधाज्ञामा स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ, कालोबजारी ऐनअनुसार कारबाही

 जेठ २०, २०७८ बिहिबार ९:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोनाको नाममा स्वास्थ्य सामग्रीलगायत अन्य अत्यावश्यक सामग्री कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना महामारीको डेढ महिनाको अवधिमा देशभरबाट प्रहरीले अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रेम्डेसिभिर लगायतका स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जनालाई पक्राउ गरेको हो ।

यो अवधिमा पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, आठ जना पीसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, चार जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, तीन जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रिमडेसिभिर बढी मूल्यमा बिक्री गर्ने रहेका छन् ।

कोरोना महामारीका समयमा स्थानीय प्रशासन र सरोकारवाला निकायसँगको समन्वयमा गोप्य निगरानी तथा अनुगमन टोली परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ । पक्राउ परेकालाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको प्रहरी प्रवक्ता एवं एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । यसैबीच यो अवधिमा काठमाण्डौ, रामेछाप, काभ्रे, बारा, महोत्तरी, खोटाङ, बर्दियालगायत जिल्लामा बढी भाडा लिएर यात्रु बोक्ने गाडीलाई पनि कारबाही गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले जोसुकैले कालोबजारी वा ठगी गरेको भेटिए तत्काल प्रहरीको १०० नम्बरमा जानकारी दिन पनि आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै बजारमा अहिले कालोबजारी बढेको उपभोक्ताले गुनासो गर्न थालेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया