काठमाण्डौ उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो

 जेठ २१, २०७८ शुक्रबार ६:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ​ - आजदेखि काठमाण्डौ उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएको छ । एक हप्तासम्म खाद्यान्नका पसल समेत बन्द गर्ने गरी भएको निषेधाज्ञा गएराति १२ बजेपछि केही खुकुलो बनाउँदै जेठ मसान्तसम्म थपिएको हो । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएकोमा जेठ १४ गतेदेखि आवतजावत र पसल सञ्चालनमा थप कडाइ गरिएको थियो ।

आजदेखि खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दूध डेरी, मासु पसल, ग्यास पसल बिहान ९ बजेसम्म खोल्न पाइने छ । यस्तै निर्माण सामग्री ढुवानीका गाडी राति ९ बजेदेखि बिहान ४ बजेसम्म चलाउन पाइने छ । गाडी मर्मत गर्ने वर्कसपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

शैक्षिक संस्था, सार्वजनिक निजी गाडी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थललाई बन्द गर्ने निर्णय यथावत राखिएको छ । घरमै वा बसेको ठाउँमा ७ जनासम्म जम्मा भइ विवाह व्रतबन्ध गर्न पाइने छ । सरकारले तोकेका मापदण्ड पालना गरी कृषिको काम गर्न छुट दिइएको छ ।

अत्यावश्यकबाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् । वाणिज्य बैंकहरुले प्रधान कार्यालयबाहेक काठमाण्डौमा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउनेछन् । औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ गतेसम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ । 

यसैबीच बाजुरामा पनि जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । यस्तै रुपन्देहीमा पनि जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थपिएको छ ।

खाद्यान्न पसलहरू स्वास्थ्य मापदण्ड अपनाएर बेलुकी ८ बजेदेखि बिहान ४ बजेसम्म खोल्न पाइने व्यवस्था गरेर निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । यस्तै झापामा पनि जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप भएको छ । हप्तामा दुई दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पसल खोल्न पाउने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो । अहिले खोटाङ र मनाङबाहेक ७५ वटा जिल्लामा निषेधाज्ञा छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया