१५ दिनको बजार अनुगमनमा झण्डै साढे सात लाख रुपैयाँ जरिवाना असुल

 जेठ २१, २०७८ शुक्रबार ६:५४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

सरकाले १५ दिनको बजार अनुगमनको क्रममा  सात लाख ३७ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

गएको वैशाख १६ देखि ३१ गतेसम्म  काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गरेको अनुगमनमा कालोबजारी गर्ने र उपभोक्ता ठगी गर्ने  ३६  व्यवसायीलाई कारबाही गरी सात लाख ३७ हजार रुपैयाँ जरिवाना असुल गरेको वाणिज्य, आपूर्ति   तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी तथा प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँले निषेधाज्ञा सुरु भएदेखि नै  बजार अनुगमनलाई प्रभावकारी बनाएको दाबी गर्नुभएको छ । 

नियमित जस्तै हुँदै आएको बजार अनुगमनलाई वैशाख १६ गतेदेखि वैशाख मसान्तसम्म थप प्रभावकारी रुपमा अनुगमन गरिएको थियो । विशेषगरी खाद्य र औषधि पसलमा गरिएको अनुगमनबाट  ३६ जना व्यवसायी कारबाहीमा  परेका हुन्  ।  

विभागले जेठ महिना सुरु भएपछिको तथ्याङ्क भने सार्वजनिक गरेको छैन । विभिन्न जिल्लाहरुमा, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अहिले पनि निरन्तर अनुगमन चलिरहेको र यो अवधिमा पनि धेरैलाई कारबाही गरिएको विभागले जनाएको छ । 

अनुगमनको क्रममा गएको वर्ष जस्तो कृत्रिम अभाव सिर्जना गर्ने, मनपरि भाउ बढाउने जस्ता धेरै घटना नभेटिए पनि केही व्यापारी तथा फर्महरुले भने त्यस्ता क्रियाकलाप गरेको भेटिएको छ । विभागका सूचना अधिकारी तथा प्रवक्ता सेढाईँले भन्नुभयो . ‘खानेतेल लगायत केही दैनिक उपभोग्य वस्तुको भाउ बढेको भनेर उपभोक्ताले गरेका गुनासो सही हो । तर खानेतेलको भाउ एक्कासी बढेको होइन । अघिल्लो वर्षदेखि नै निरन्तर बढिरहेको छ । ’

सम्बन्धित व्यवसायीलाई पटक-पटक मूल्यवृद्धिको कारणबारे सोधिएको विभागले जनाएको छ । विभागका अनुसार उनीहरुले कच्चा पदार्थको भाउ बढेकाले मूल्य बढेको बताएका छन्  ।  यस्तै विभागले व्यक्तिगत रुपमा २१ वटा सम्बन्धित उद्योगलाई भाउ बढ्नुको कारणबारे सोधेको छ । साथै उनीहरुको आयात र बिक्रीवितरणको बारेमा पनि जानकारी लिइएको छ । अनुगमनको क्रममा वस्तुको उपलब्धता सामान्य र सहज तरिकाले नै भइरहेको पाइएको छ ।  तर मूल्य बढेको भनेर  केही गुनासो आएको छ । 

केही दिन अगाडि पनि भाउ बढाएको भनेर तीन वटा खाने तेल उद्योगलाई कारबाही गरिएको थियो । अहिलेको अनुगमन मूल्य र गुणस्तर केन्द्रीत गरिएकाले त्यहीअनुसार  कारबाही पनि भइरहेको छ । 

कालोबजारी वा ठगी गरेमा के कारबाही हुन्छ ? 

कुनै पनि कम्पनी वा व्यापारीले ठगी गरेको छ भने नेपाल प्रहरीले उतिखेरै  स्थलगत रुपमा नै कारबाही गर्छ । कालोबजारी गरेमा जिल्ला प्रशासन कार्यालयले आफ्नो मातहतमा रहेर कारबाही गर्ने व्यवस्था छ । उपभोक्ता संरक्षण ऐनमा ६ लाख रुपैयाँ जरिवाना वा ६ वर्ष कैद अथवा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।  

यस्तै त्यस्ता व्यवसायीको कारोबार बन्द गर्ने र थुनामा राख्नेसम्मको कारबाही हुन सक्ने व्यवस्था छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया