डब्ल्यूएचओद्वारा नेपाललाई कालो ढुसीको औषधि एम्फोटेरिसिन 'बी' सहयोग

 जेठ २२, २०७८ शनिबार १२:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कालो ढुसी अर्थात ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन  'बी' सहयोग पठाएको छ ।

नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन 'बी' नेपालमा पठाएको हो ।  डब्ल्यूएचओले पठाएको एक हजार भाइल नेपाल आइपुगेको छ । नेपालमा पनि कालो ढुसीको बिरामी देखिन थालेपछि सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग जति सक्दो छिटो औषधिको सहयोग पठाउन आग्रह गरेको थियो ।

डब्ल्यूएचओले पठाएको यो औषधि भुसुनाको टोकाइका कारण लाग्ने कालाजार रोग विरुद्ध पनि प्रयोग हुने भएकाले केही भाइल त्यसका लागि पनि राखिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य सेवा विभागले थप १० हजार भाइल यो औषधिको खरिदका लागि तयारी गरिरहेको छ ।  पछिल्लो समय भारतमा बढ्दै गएको कालो फङ्गसका कारण यसको निर्यातमा प्रतिबन्ध लगाएपछि औषधिको अभाव हुन थालेको छ ।

नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसी पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाण्डौमा भेटिएका छन् । यसअघि कालो ढुसी भारतमा देखिएको थियो । डाक्टरका अनुसार कालो ढुसीले कोभिड–१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । यो सङ्क्रमण बिरलै देखिने तर सङ्क्रमण गम्भीर भए ज्यान समेत जान सक्ने डा.पौडेलले बताउनुभयो।

अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने, आँखाका ढकनी सुनिने,ज्वरो आउने, आँखाले धमिलो देख्ने, नाकबाट रगत र बाक्लो सिँगान आउने, दाँत दुख्ने वा हल्लिने जस्ता लक्षण देखा पर्दछ । यो रोग मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसीको जोखिम हुने उहाँले बताउनुभयो ।

कालो ढुसीबाट बच्नका लागि सफा र सुक्खा मास्क प्रयोग गर्ने, नियमितरूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्ने जथाभाबी एन्टिबायोटिक औषधि नखाने, मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रण गर्ने र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि खानु पर्ने डाक्टरको सुझाव छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया