जङ्गलमा पाइने रहरलाग्दा र आकर्षक च्याउले ज्यान जान सक्छ, यस्ता च्याउ खाँदै नखाऔँ–विज्ञ

 जेठ २४, २०७८ सोमबार ८:४३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिलेको समयमा जङ्गलमा च्याउ उम्रिने समय हो । बर्खा लाग्दै गर्दा जङ्गल र खेतबारी तथा कान्ला, पाखामा प्रशस्तै च्याउ भेटिन्छ । गाउँघरमा यतिबेला हरियो तरकारीको अभाव हुने भएकाले यस्ता च्याउ खोजेर बिहान बेलुकाको छाक टार्ने पनि गरिन्छ । तर, विज्ञ भने  यस्ता च्याउ खाँदै नखान सुझाव दिन्छन् । 

‘जङ्गलमा धेरै खालका च्याउ पाइन्छन्, केही खान योग्य पनि हुन्छन् । तर कुन विषालु हुन्छ र कुन हुँदैन भनेर छुट्याउन गाह्राे हुन्छ । त्यसैले सकेसम्म यस्ता च्याउ खाँदै नखाउ’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनीले भन्नुभयो । 

धेरैजसोले बाबुबाजेका पालादेखि नै पहिचान गरी खाँदै आएका जङ्गली च्याउ खोजेर खाने गर्छन् । तर, कतिपयले भने खान योग्य च्याउ पहिचान गर्न सक्दैनन् । यसले गर्दा जुन च्याउ भेटियो त्यही च्याउ खाने गरिन्छ ।  यसरी जथाभाबी च्याउ खाँदा ज्यानै जाने जोखिम हुन्छ ।

डाक्टर बाबुराम मरासिनी कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा पनि विषालु च्याउ खानबाट बच्न सकिन्छ भन्नुहुन्छ । तर, जोखिम भने हुने भएकाले सकेसम्म पुरानो रूखको ठुटो, पत्कर, खेतबारी, खुला चौरमा उम्रिने च्याउ खाँदै नखान उहाँको सुझाव छ । 

व्यावसायिक रुपमा उत्पादन गरेका च्याउ मात्रै खाने गरे जोखिम नहुने उहाँले बताउनुभयो । यो सम्भव नभए तरकारीका लागि बारी तथा जङ्गलमा पाइने निउरो, जलुको पनि खान सकिन्छ । डाक्टर मरासिनीका अनुसार हेर्दा आकर्षक देखिने र  रङ्गीन च्याउ विषालु हुन्छन् । यस्ता च्याउ रहरलाग्दो देखिन्छ । विषालु च्याउमा हत्तपत्त किरा लाग्दैन भने निचोर्दा सेतो दूध निस्कन्छ । च्याउ खानयोग्य छ कि छैन भनेर छुट्याउन झुक्किने सम्भावना धेरै भएकाले जङ्गलमा पाइने च्याउ खाँदै नखान उहाँको आग्रह छ ।

विषालु च्याउ खाँदा नेपालमा हरेक वर्ष झण्डै दुई सय जनाको ज्यान जाने गरेकाे तथ्याङ्क छ ।  च्याउमा प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि तत्व पाइन्छ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया