गाविस अध्यक्षदेखि मन्त्रीसम्म

 जेठ २७, २०७८ बिहिबार १९:६:३१ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित हुनुभएका गणेशकुमार पहाडी आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रूपमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिपरिषदमा उहाँले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी पाउनुभएको हो । नवनियुक्त मन्त्री पहाडी विसं. २०७४ को चुनावमा सिन्धुली–१ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उहाँ दोस्रो संविधान सभाको चुनावमा पनि त्यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । त्यसअघि उहाँ विसं. २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रूपमा निर्विरोध निर्वाचित हुनुभएको थियो । 

पार्टीमा उहाँ विसं. २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुनुभएको थियो । विसं. २०३९ मा अनेरास्ववियु एकता (पाँचौँ) बाट राजनीति सुरु गर्नुभएका पहाडी विसं. २०४८ मा नेकपा (एमाले) को सिन्धुली काठमाण्डाै सम्पर्क मञ्चको संयोजकसमेत हुनुभयो । उहाँ विसं. २०६५ मा जिल्ला कमिटी सचिव र विसं. २०६६ मा जिल्ला संयोजक हनुभएको थियो । 

स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएका उहाँ दुवै पटक सांसद् हुँदा प्रतिनिधि सभाको विकास समितिको सदस्य हुनुभएको थियो । यसअघि गएकाे पुसमा प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारमा गणेश सिंह ठगुन्नाले याे मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया