गोर्खाली पाराको खेलबाट सन्तुष्ट छु : अलमुताइरी

 जेठ २९, २०७८ शनिबार ८:२२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगको खेलमा नेपाली खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् । अस्ट्रेलियासँग ३–० गोलले पराजित भए पनि खेलको स्तर सुधारिएको अलमुताइरीको भनाइ छ ।

‘गोर्खालीले अन्तिमसम्म फाइट गरे, म खेलाडीहरुको प्रदर्शनसँग खुशी छु, गोर्खाली उपनाम जस्तै खेलाडीले पनि बहादुरीका साथ खेले’ अलमुताइरीले भने । खेलको अन्तिम मिनेटसम्म पनि नेपाली खेलाडीले उत्तिकै आत्मविश्वासका साथ खेलेको देख्दा नेपाली युवा टोलीले भविष्यमा धेरै राम्रो गर्न सक्ने सङ्केत मिलेको उनको भनाइ छ ।

अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोडले पनि नेपाली पक्षको प्रतिस्पर्धी क्षमताको प्रशंसा गर्दै नेपालको खेलबाट आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन् । विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा नेपाल अस्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको हो ।

४५ औं मिनेटमा रोहित चन्द रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित भएर पनि नेपाल अस्ट्रेलियासँग जम्मा तीन गोलले मात्रै हारेको भन्दै प्रशंसा भइरहेको छ । विश्व वरीयतामा अस्ट्रेलिया ४१ औं स्थानमा छ भने नेपाल एक सय ७१ औं स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया