हामी फुटबल खेल्न सक्छाैँ भन्ने मानसिकता अलमुताइरीकाे प्रशिक्षणमा विकास भएकाे छ : किरण चेम्जाेङ

 जेठ ३१, २०७८ सोमबार १९:१४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – कतार विश्व कप छनोट र एसियन कप छनोटमा नेपाली फुटबल टाेली कुवेत भ्रमण गरेर आइतवार बेलुका नेपाल फर्किएको छ । अघिल्ला भ्रमण भन्दा यस पटकको भ्रमण उपलब्धिमूलक रहेको नेपाली टोलीका कप्तान तथा गाेलरक्षक किरण चेम्जोङले बताएका छन् । काठमाण्डौमा सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कप्तान किरण चेम्जोङले यसपालि विगतमा भन्दा राम्रो प्रदर्शन गरेको बताएका छन् । 

सधैँ रक्षात्मक रणनीति अपनाउने नेपालले यस भ्रमणमा आक्रामक खेल्न सक्छ भन्ने उदाहरण दिएको कप्तान चेम्जोङकाे भनाइ छ । समूह तालिकाको चौथो स्थानमा रहँदै कतार विश्व कप छनोट यात्रा समाप्त गरेकाे नेपालकाे सन् २०२३ चीनमा एसियन कपको झिनो आशा 'प्लेअफ' मात्रै बाँकी छ । तटस्थ स्थल कुवेत भ्रमण गरेको नेपालले कोरोना महामारी नेपालमा नफैलिएकाे भए नेपालले कुवेत भ्रमणमा खेलेका खेल त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा नेपाली दर्शक माझ खेल्ने थियो । कुवेतका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टोली सम्हाले पनि विगतको खेल्ने शैलीभन्दा फरक देखियो । साथै प्रशिक्षक अलमुताइरीले बलिया टोलीसँग पनि नेपालले प्रतिस्पर्धात्मक खेल देखाउन सक्छन् भन्ने मानसिकता थपिदिएका छन् ।

नेपाल फर्किएपछि नेपाली टोलीका कप्तान किरण चेम्जोङले न्यूज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्ताकाे सम्पादित अंश ।

कुवेत भ्रमण समग्रमा कस्तो रह्यो?

कुवेतको तीन वटै खेल हेर्दा, टिमले धेरै सकारात्मक खेलेकाे देखेको छु । नेपालकाे सुधारिएकाे खेल देखिएकाे छ । सकारात्मक र नकारात्मक दुवै पक्षलाई नियाल्नुपर्छ । सकारात्मक कुराहरूलाई ध्यान दिनुपर्छ । विशेषगरी हामीले हाम्रो बलियो पक्षलाई केलाउँदै अगाडि बढ्नुपर्छ । आउँदा दिनमा सकारात्मक विषयमा विशेष ध्यान दिनुपर्छ । यसरी नै अगाडि बढ्दा नेपालको फुटबल विकासले गति लिन सक्छ ।

चाइनिज ताइपेईसँगको खेलमा हामीले विगतको नतिजालाई निरन्तरता दिन सक्यौँ । जोर्डन र अस्ट्रेलियासँगको खेलमा भने विगतको नतिजालाई क्रम भङ्ग गर्ने लक्ष्य पूरा हुन सकेन । यसमा हामी कहाँ चुक्यौँ । ?

पहिलो खेल चाइनिज ताइपेईसँग थियो । ताइपेईको घरेलु मैदानमा खेल्न जाँदा त्यो समयमा टोली निकै बलियो । दोस्रो लेगमा पनि सुखद नतिजा निकाल्न हामी पूर्णरूपमा तयार थियौँ । कुवेत जानुअघि इराक भ्रमण गरेर लिएको उपलब्धिले हाम्रो मनोबल बढ्यो । तयारी राम्रो भएकाले नतिजालाई निरन्तर दिन सक्यौँ । 

भ्रमणमा रहेका कोच र एसिस्टेन्ट कोचले हाम्रो खेललाई राम्रोसँग नियाल्नुभएको थियो र उनीहरूको खेललाई पनि । जित्नुको विकल्प हामीलाई थिएन । त्यहीअनुसार कोचले दिएको निर्देशनलाई खेल अवधिभर पालाना गर्‍याैँ । पेनाल्टीबाट अग्रतालिएसँगै खेलाडीमा हौसला मिल्यो । पछि दोस्रो गोल पनि निस्क्याे । बलमा पकड जमाउँदै दबाब दिएर खेल्यौँ, राम्रो खेल्यौँ । 

दोस्रो खेलमा जोर्डनसँग टफ म्याच थियो । पहिलो खेलमा गोलको मार्जिन धेरै लागेको थियो । पहिलो खेलमा पेनाल्टीबाट हामी पछि परेका थियाैँ । दोस्रो लेगमा पनि त्यही अवस्था भयो । नचाहँदा नचाहँदै गल्ती भयो । मानवीय त्रुटि र फुटबलको पाटो हो । जाेर्डनसँगको खेलमा पनि पुरानो गल्ती भयो । सामान्य गल्तीले खेल गुमाउन पुग्याैँ । सुधारको प्रयास गरे पनि अलमलमा पर्‍याैँ । यद्यपि जोर्डनसँगका कमजोर पक्ष केलाउँदै खेल्ने प्रयास गरे पनि सफल हुन सकेनौँ । अङ्क खोस्ने लक्ष्यका साथ मैदान उत्रिएका थियौँ । तीन–शून्यले नै हार्ने सोच थिएन तर खेलमा त्यही नतिजा दोहोरियो । समग्रमा हामीले राम्राे प्रदर्शन गरेका हौँ ।

एसियाली पावर हाउस र विश्व कपको अनुभव लिएको अस्ट्रेलियासँगको खेललाई कसरी नियाल्नुभयो त ?

अस्ट्रेलियासँग पहिलो लेग नै टप टोली र खेलाडीसँग खेल्न पाउनु हाम्रो लागि मौका रह्यो । पहिलो खेलभन्दा दोस्रो लेग फरक थियो । पहिलो लेगमा फिल्ड शेयर गर्न पाउनु हामीलाई उपलब्धिमूलक थियो । पहिलोमा हामी अनुभव बटुल्ने लक्ष्यमा थियौँ भने दोस्रो लेगमा प्रतिस्पर्धात्मक फुटबल खेल्ने लक्ष्य राखेका थियौँ । त्यहीअनुसार तयारी पनि गरेका थियौं । पहिलो हाफमा १० खेलाडीमा सीमित भए पनि समग्र टोली एक बनेर बनेर खेल प्रदर्शन गर्न सफल भयौँ । वान म्यान डाउनमा पनि हामीले बलियो अस्ट्रेलियालाई रोक्यौँ । अस्ट्रेलियासँगको खेलमा टिममेट्सले गरेको प्रदर्शनमा निकै सन्तुष्ट छु । तारिफ गर्न चाहन्छु । देशका लागि मरेर खेलेका थिए । तारिफ योग्य खेल रह्यो । राम्रो खेले । अस्ट्रेलियासँगको दोस्रो लेग पनि राम्रो भयो । सुखद नै मान्नुपर्छ । 

एसियाको पावर हाउससँग खेल्न पाउँदा हाम्रो लागि अनुभव भयो । आउँदा दिनमा अब अन्य एसियाका पावर हाउससँग खेल्नुपर्छ र पाउँ भन्ने हाम्रो अपेक्षा छ । कोरिया, जापान, इरान जस्ता टोलीसँग खेल्न पाउँ । नतिजा जे होला केही फरक पर्दैन । पहिलो खेल गुमाए पनि दोस्रो खेलमा सुधारका अवसर पाउँछौँ । यसरी आउँदा दिनमा बलियो टोलीसँग खेल्न पाउँदा नेपाली  फुटबलको स्तर सुधारिन्छ भन्ने मेरो विश्वास छ ।

जितका लागि खेल्नुभन्दा पनि अनुभवलाई यस्ता खेलले सुधारका लागि धेरै सहयोग गर्छ । सधै हार्छ भन्ने आँकलन भए पनि नेपालले पनि प्रतिस्पर्धात्मक फुटबल खेल्न सक्छ भन्ने सन्देश विश्वभर जान्छ । ठूलो अन्तरले हारेको भए पनि दोस्रो पटक आमनेसामने हुने अवसर पाउँदा सुधारिएको खेल देखायो भन्ने सन्देश दिन सक्छौँ भन्ने अस्ट्रेलियासँगको खेलले प्रमाणित गरेको छ । अस्ट्रेलियाको प्रशिक्षकले पनि हाम्रो खेलको तारिफ गरेका छन् । अब यस्तै बलियो अस्ट्रेलियासँग आउँदा दिनमा पनि खेल्न पाए स्कोर गर्न सकिन्छ भन्ने विश्वास छ । समग्रमा अन्तिम खेल पनि राम्रो मान्छु ।

छोटो समय टोलीलाई सम्हालेका प्रशिक्षक अलमुताइरीको रणनीति भ्रमणमा सफल भएको हो ? अनि यस्तो सम्भव कसरी भयो ?

कोचले मात्र सम्भव हुँदैन । टोलीले युनाइटेड खेल देखाउँदा नतिजा निक्लने हो । कोचको निर्देशनले धेरै अर्थ राख्छ । नयाँ कोचले वे देखाउने हो । नेपाली टोलीलाई सम्हाल्नु भएका नयाँ प्रशिक्षक अबदुल्लाहले सबै खेलाडीको माइन्डमा ‘वी क्यान प्ले फुटबल’ भरिदिनुभएको छ । यस्तो वातावरण सबै खेलाडीको दिमागमा राख्दिनुभएको छ । जति बलियो प्रतिद्वन्द्वी भए पनि हामीले फुटबल खेल्न सक्छौँ भन्ने मानसिकता भरिदिनुभएको छ । नतिजा जे भए पनि अट्याकिङ फुटबल खेल्नुपर्छ । उहाँको प्रेरणाले नयाँ खेलाडीमा प्रतिस्पर्धात्मक खेल खेल्न सक्छौँ भन्ने मानसिकता विकास भएको छ । युवा खेलाडीमा यस्तो मानसिकता परेको छ । अन पिच अफ पिचमा सबै खेलाडीलाई मोटिभेशन दिन सक्नुभएको छ । नयाँ खेलाडीमा फाइटिङ स्प्रिट विकास भएको छ । प्रशिक्षकको मात्र भन्दा पनि समग्र टिमको प्रदर्शन रह्यो । प्रशिक्षकको योजना फुटबललाई एक स्टेपमाथि लग्ने लक्ष्य रहेको छ । त्यहीअनुसार उहाँले परीक्षण गर्नुभएको छ । त्यसका लागि हामीले उहाँलाई साथ दिएका छौँ । त्यहीअनुसार हामीले पालना गरेका छौँ ।

विगतको भन्दा फरक शैलीको फुटबल प्रदर्शन गरेको नेपालले अट्याकिङ फुटबल खेलेको छ । युवा खेलाडी र पाका खेलाडी पनि टोलीमा रहेका छन् । आउँदा दिनमा नेपाली टोलीले कुवेत भ्रमणमा गरेको प्रदर्शनलाई निरन्तरता दिन कस्तो किसिमको योजना आवश्यक छ ?

खेलाडीहरू वर्षभरि नै व्यस्त हुनुपर्‍याे । व्यस्त तालिका पनि हुनुपर्छ । शीर्ष डिभिजनका लिग निरन्तर हुनुपर्‍याे । पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न एनएसएलले खेलाडीमा राम्रो सन्देश दिएको छ । खेलाडीलाई एनएसएल राम्रो भएको छ । यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई व्यस्त र अवसर खाेज्नका लागि निकै मद्दत गरेको छ । लिगहरू लामो समयसम्म हुनुपर्छ । व्यावसायिक हिसाबले लिगहरू सञ्चालन हुनुपर्छ । राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय भ्रमण गराएर व्यस्त गराउनुपर्छ । फुटबल खेलाडीलाई फुटबलमा नै व्यस्त बनाउनुपर्छ । हामीभन्दा माथिल्लाे र तल्लोस्तरको देशसँग बारम्बार मैत्रीपूर्ण खेल धेरैभन्दा धेरै मिलाएर खेलाडीलाई धेरै अनुभव दिनुपर्छ ।

सबैभन्दा ठूलो कुरा खेलाडीलाई व्यस्त राख्नुपर्छ । खेलाडीलाई फुर्सद हुने किसिमको वातावरणभन्दा पनि व्यस्त बनाउँदै फुटबल मात्र सोच्न वातावरण जरुरी छ । यसले गर्दा नेपाली फुटबलको नतिजा राम्रो हुन्छ । खेलाडीका लागि पनि यस्ता योजनाले हौसला मिल्छ । ठूलो टोलीसँग पटक–पटक खेल्न पायौँ भने अवश्य नै हामीले सुधारिएकाे खेल देखाउन सक्छौँ । कमी कमजोरीलाई नियाल्न सक्छ । अनुभव हुन्छ, पहिलो, दोस्रो अनि तेस्रो खेलमा सुधार अवश्य देखिन्छ । यसरी नै फुटबल सुधार गर्न सकिन्छ । नेपालको तुलनामा विदेशतिर लामो समयसम्म लिग सञ्चालन हुन्छ । एन्फा र नेपाल सरकारले खेलाडीलाई व्यस्त बनाइराख्ने तालिका बनाउनुपर्छ । बलियो टोलीसँग पटक–पटक मैत्रीपूर्ण खेल खेल्दै कमी कमजोरी सुधार्दै समग्र खेल सुधारको बाटो अँगाल्न सकिन्छ । 

समग्रमा भन्नु पर्दा खेलाडीलाई व्यस्त राख्नुपर्छ, अन्तर्राष्ट्रिय भ्रमण गराउँदै टोलीलाई अनुभव बटुल्ने मौका दिनुपर्छ । ठूलो क्लब, लिग खेल्ने क्लबदेखि माथिल्लोस्तरको टोलीसँग खेल्ने अवसर धेरैभन्दा धेरै हुनुपर्छ । यस्ता खेलले युवा खेलाडीलाई राम्राे अनुभव हुन्छ र हौसाल पनि मिल्छ । यस्तै–यस्तै विषयमा ध्यान दिइयो भने नेपाली फुटबलले विकासको गति छिटै लिन्छ । विकास गर्न मद्दत गर्दछ ।  

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया