महामारीकै बीचमा वैशाख महिनामा मात्रै २४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति

 असार २, २०७८ बुधबार १३:५९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि गएको वैशाख महिनामा मात्रै २४ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि वैशाख महिनामा मात्रै २४ हजार तीन सय ६३ जनाले श्रम स्वीकृति लिएका हुन । श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा धेरै अदक्ष श्रमिक रहेका छन् । १० हजार ८ सय २४ जना पुरुष र ८०३ जना महिला गरी ११ हजार ६२७ जनाले अदक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

यस्तै ९ हजार ४५५ जना पुरुष र ७७८ जना महिला गरी १० हजार २ सय ३३ जनाले दक्ष श्रमिकका रूपमा श्रम स्वीकृति लिएका छन् भने २२ सय ९० जना पुरुष र १७१ जना महिला गरी २४ सय ६१ जनाले अर्ध दक्ष श्रमिकका रूपमा श्रम स्वीकृति लिएका छन् । ३४ जना पुरुष र २ जना महिलाले व्यवसायीकमा र ६ जना उच्च सीपयुक्त श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

यो सङ्ख्या पुनः श्रम स्वीकृति, वैधानिकीकरण र नयाँ श्रम स्वीकृति लिनेको हो । कोरोना महामारीको दोस्रो लहरका कारण सरकारले वैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाको समयमा विभागको कार्यालय बन्द भए पनि अनलाइनमार्फत र अति आवश्यक पर्नेलाई विभागले कार्यालयमै उपस्थित भएर पनि सेवा प्रदान गरेको छ ।

अहिले भने सातामा आइतबार र बुधबार गरी दुई दिन श्रम कार्यालय खुलिरहेको छ । पुनः श्रम स्वीकृतिका लागि भने वैदेशिक रोजगार विभागको कार्यालय धाउन पर्दैन । एक पटक बायोमेट्रिक गरेर विदेश गएको भएमा आफू रहेकै ठाउँबाट अनलाइनमार्फत निवेदन दिन सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया