नवलपरासीकाे बौदीखोलामा आएकाे बाढीले निर्माणाधीन पुल बगायो

 असार ३, २०७८ बिहीबार ७:५२:६ | रासस
unn.prixa.net

नवलपरासी - सोमवार साँझदेखि परेको अविरल वर्षापछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले बौदीकालीमा निर्माणाधीन पुल बगाएको छ । बौदीकाली गाउँपालिकाको वडा नं १ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको हो ।

बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिनुभयो । प्रदेश सरकारको तीन करोड ५० लाख रुपैयाँको  लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार यस पुलको आज ढलान गर्ने तयारीका साथ काम भइरहेको थियो । खोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको पुल बगाएपछि लाखौँ रुपैयाँको नोक्सानी भएको सुवेदीले बताउनुभयो । 

यसैबीच अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीका कारण नवलपुर र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेको छ । बौदीकाली–४ र तनहुँको घिरिङ गाउँपालिका–४ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको पक्की पुल जोखिममा परेको सुवेदीले बताउनुभयो ।

बर्सातका कारण बौदीकाली क्षेत्रको जमीनको केही भाग भासिएको छ भने घिरिङतर्फ पुलको सपोर्टिङ ग्याबिन बगाएको छ । पुलमा जोखिम बढेपछि यस क्षेत्र भएर हिँड्ने गाडी सञ्चालनमा रोक लगाइएको सुवेदीले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया