तनहुँमा जङ्गली जनावरका लागि सामुदायिक वनमा पोखरी

 असार ५, २०७८ शनिबार १२:२५:४१ | रासस
unn.prixa.net

तनहुँ - डिभिजन वन कार्यालय तनहुँले जङ्गली जनावर र मानवबीचको द्वन्द्व न्यूनीकरणको लागि सामुदायिक वनमा १५ वटा पानीको पोखरी निर्माण गरेको छ । जिल्लाको भानु नगरपालिकामा–१२,बन्दिपुरमा दुई र देवघाटमा एक पोखरी निर्माण गरेको हो । डिभिजन वन कार्यालयबाट दश र जिल्ला वन पैदावर समितिबाट पाँच पोखरी निर्माण गरिएको छ । 

जङ्गलमा निर्माण गरिएको पोखरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणको लागि सहयाेगी जस्तै बन्न पुगेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । तनहुँमा वन्यजन्तुले किन मानिस माथि आक्रमण गरिरहेको छ भन्ने विषयमा स्थलगत अनुगमन गर्दा पानीको मुख्य समस्या देखिएको उहाँले बताउनुभयो । वन्यजन्तुलाई चाहिने पानी वनजङ्गल छेउमा नभएपछि पानीकै लागि मानव बस्ती पस्दा दुर्घटना हुने गरेको पत्ता लागेपछि पोखरी निर्माण कार्यलाई प्राथामिकता दिइएको उहाँले  बताउनुभयो । 

पोखरी निर्माण गरिएपछि त्यस क्षेत्रमा यस वर्ष जङ्गलमा आगलागी भएको छैन, चराचुरुङ्गीले प्यास मेटाउन पाएका छन् भने हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाँच्ने प्रजातिका जनावरको आहार व्यवस्थापनमा सहज भएको जनाइएको छ । पानीको अभावमा मानव र वन्यजन्तु द्वन्द्व बढेकाले न्यूनीकरणको लागि चालु आर्थिक वर्षमा पोखरी निर्माण गरिएको हो । कार्यालयले विनियोजन गरेको १२ लाख ५० हजार रुपैयाँमा पोखरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । 

जङ्गलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गरी पानीले भरिएपछि वन्यजन्तुलाई पानीको अभाव नहुने र पानीका स्रोतहरु तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको  कार्यालयले जनाएको छ । 

आव २०७४/०७५ देखि २०७७/०७८ तीन वर्षमा तनहुँमा दश बालबालिकाको ज्यान गएको वन कार्यालय तनहुँका प्रशासन शाखाका अधिकृत पुष्प खनालले जानकारी दिनुभयो ।  वन्यजन्तुको आक्रमणबाट नौ जना घाइते भएका छन्। 

घाइतेहरुको अवस्था हेरेर २० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म राहत दिने गरिएको उहाँले बताउनुभयो । चितुवाको आक्रमणबाट ज्यान गुमाएकालाई क्षतिपूर्ति बापत एक करोड ५४ लाख १३ हजार ३८ रुपैयाँ राहत वितरण गरेको कार्यालयले जनाएको छ । 

वन कार्यालय तनहुँले जङ्गलमा पोखरी निर्माण गर्न तथा जथाभावी जङ्गलका रुख ढालेर डोजरे विकास नगर्न जिल्लाका दश वटै पालिकालाई आग्रह गरेको छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया