हेलिकप्टर चार्टर गरेर सुरक्षित ठाउँमा जाँदै मनाङवासी

 असार ५, २०७८ शनिबार १६:३७:५८ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मनाङ – मनाङका स्थानीय हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिँडेका हुन् ।

हालसम्म पनि वर्षा र जोखिम कायम रहेपछि मनाङेहरु लमजुङ, काठमाण्डाै, पोखरातर्फ आउन थालेका हुन् । नासो गाउँपालिका–८ ताचे ओडारका ३५ वर्षीय विष्णु घले, ३२ वर्षीय चन्द्रकाशी गुरुङ, ३१ वर्षीय सञ्जय गुरुङ, १४ वर्षीय सविना गुरुङ र सोही हेलिकप्टरमा गोरखा सिरनचोकका २२ वर्षीय पुकार गुरुङ आज मनाङबाट हेलिकप्टर रिजर्भ गरेर लमजुङ आइपुगेका छन् ।

पुकार गुरुङ भने गत जेठ २६ गते मनाङ ताचे घुम्न गएको र पहिराका कारण रोकिएर बसेका थिए । विष्णु घलेले भन्नुभयो, “मनाङ ताचेबाट हेलिकप्टरमा हामीले प्रतिव्यक्ति रु २० हजारका दरले तिरेर बेँसीशहर आएका हौँ । यसरी आउनु हाम्रो रहर होइन बाध्यता भएको उहाँको भनाइ छ । घलेले भन्नुभयो, “गाउँभन्दा तल नै सुरक्षित छ, मनाङका गाउँहरुमा वारिपारि पहिरो अझै पनि गइरहेको छ । गाउँमा बिजुली लाइन छैन, वाइफाई छैन, बाटो छैन, मोबाइलमा चार्ज गर्न पाएको छैन यतिबेला त्यहाँ धेरै समस्या रहेको उनीहरुको भनाइ छ ।”

हामीमध्ये लमजुङमा कोही शिक्षक कोही विद्यार्थी रहेको र त्यसका लागि पनि आएको चन्द्रकाशी गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हिँडेर आउनलाई बाटो छैन, जोखिम बढी छ, नआऔँ भने यता काम पनि गर्न पाइँदैन । यसरी आउने हामी मात्र होइन गाउँका अन्य स्थानीयबासी पनि हेलिकप्टरबाट लमजुङ काठमाडौँ जान थालेको उनीहरुको भनाइ छ । 

मनाङ घर भए पनि रोजगारीलगायत विभिन्न कामले जिल्लाबाहिर बस्नेहरु यतिबेला काठमाडौँ, लमजुङ हेलिकप्टरबाट जाने क्रम जारी रहेको विष्णु घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “यसरी जाँदा त्यहाँभन्दा तल नै सुरक्षित हुन्छ, आफ्नो काम पनि गर्न पाउँछन् । गाउँमा हुँदा अब मर्छौं होला, हाम्रो गाउँ वरिपरि पहिरो गएको छ, पानी रोकिएको छैन, गाउँबाट कतै जानलाई पनि बाटोसमेत सबै भत्किसकेकाले डरमा थियौँ तर अब भने बाँचिन्छ खुशी लाग्यो ।”

मनाङमा जोखिम अझै पनि कायम रहेकाले आफू खुशी र पैसा भएकाहरुले निजी हेलिकप्टरमार्फत पनि जिल्ला बाहिरका विभिन्न ठाउँमा गइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । आज पनि वर्षा भएकाले मर्स्याङ्दी नदीमा पानीको बहाव बढेर चामेबाट माथिल्लो मनाङ जाने पुलसमेत उच्च जोखिम बनाएको उहाँको भनाइ छ । हेलिकप्टर लमजुङ हुँदै मनाङ आवतजावत गरिरहेको छ । यसरी आवतजावत गर्दा यहाँका स्थानीयवासीको समेत त्यसतर्फ ध्यान केन्द्रित हुने गरेको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया