गङ्गा दशहरा स्नान गर्न नदी किनारमा भक्तजनकाे भीड

 असार ६, २०७८ आइतबार १२:२२:५३ | रासस
unn.prixa.net

काठमाण्डाै - ज्येष्ठ शुक्ल दशमीका दिन आज बिहानैदेखि गोकर्णेश्वर नगरपालिका–१ वाग्मतीमा शैलमती मिसिएर बनेको सिद्धगयामा गङ्गा दशहरा स्नान गर्ने भक्तजनको भीड लागेको छ । सुन्दरीजलको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा वाग्मती र शैलमतीको सङ्गममा गङ्गा दशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भइ मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल दशमीका दिन स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल दशमीका दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नास हुने धार्मिक विश्वास छ । कसैले नदिइ कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पुर्याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्ने जस्ता पाप दशहराका दिन गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नास हुने शास्त्रीय मान्यता छ ।

सिद्धगयाका साथै काठमाण्डौको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणीसङ्गम, देवघाट, रिडीलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप आजका दिन स्नान गरेर नास हुने विश्वासमा गङ्गा दशहरा भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गममा रहेकाे वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि स्नान गर्ने भक्तजन जम्मा भएका छन् । हत्यामोचनघाट गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बु स्नान गर्ने भक्तजन भेला भए पनि विगत वर्षमा जस्तो भक्तजनलाई भीड हुन नदिइएको बताउनुहुन्छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम उच्च रहेकाले स्नान गर्न आउनेलाई भौतिक दूरी कायम गरी पर्व मनाउने अवसर गरिएको उहाँले जानकारी दिनुभयो ।

पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशअनुसार माताको हत्या गरेपछि हत्यामोचन घाटमा स्नान गरी हत्याको पाप मोचन गरेकाले यो ठाउँलाई हत्यामोचनघाट भनिएको विश्वास गरिन्छ । यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पाप मोचन भएको थिएन ।

पापमोचनस्वरूप परशुरामकी आमाले पुनर्जीवन पाएको पौराणिक कथन छ । दशहराका दिन जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधवार, हस्ता नक्षत्रलगायत दश योग पर्ने जनाइएको छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म यी योग पर्ने गर्छ । प्रतिपदादेखि नै स्नान सुरु भए पनि आज भने यो पर्वको मुख्य दिन हो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया