नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रूप फेला

 असार ७, २०७८ सोमबार १३:७:५९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रूप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रूप नौ वटा नमुनामा फेला परेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले नमुना परीक्षणमा अनुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रूप k417N mutation देखिएको बताउनुभयो । यसलाई AY.1 नाम दिइएको छ । उहाँका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ ।

मन्त्रालयले गएकाे वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न ठाउँका विभिन्न उमेर समूहका व्यक्तिबाट पीसीआर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो । नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७) र डेल्टा (बी.श.६१७.२) तथा कप्पा (बी.१.६१७.१) भेरियन्ट पुष्टि भएको छ ।

डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँले यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रूप मात्र रहेको बताउनुभयो ।

यो नयाँ देखिएको भेटियन्ट होइन, उहाँले भन्नुभयो, यसअघि पनि देखिएको छ, तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ । मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रूपको सङ्क्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया