जब उनीहरू जानाजान नदीमा हाम फाले... (कृत्रिम अभ्यास )

 असार ७, २०७८ सोमबार २०:२३:२७ | भावुक योगी
unn.prixa.net

बर्दिया – असार ७ गते सोमवार दिउँसो १२ बजेको थियो । बर्दियाको राजापुर नगरपालिका १ बड्की दौलतपुर गाउँ नजिक कर्णाली नदीमा बाढी आएको खबर आयो । स्थानीयवासी ‘नदीमा बाढी आयो, मान्छे बगायो’ भनेर हो–हल्ला गर्दै थिए । बाढी पूर्वसूचनाको साइरन पनि बजिरहेको थियो ।

कर्णालीमा बाढी बढिरहेको थियो । बाढीले ठूला–ठूला रुख बगाइरहेको थियो । स्थानीयवासी बाढी आयो मान्छे बगायो भन्दै चिच्चाउँदै थिए । त्यसैबेला उद्धारका लागि तयार रहेका सुरक्षाकर्मीको टोली सदरमुकाम गुलरियाबाट कर्णाली नदी किनारको बड्की दौलतपुर गाउँमा पुग्यो । सुरक्षाकर्मीले रबर बोटमा हावा हाल्ने काम सुरु गरिरहेका थिए । सुरक्षाकर्मी, प्रशासनसहितको टोलीसँगै स्थानीयवासी पनि जम्मा भए ।   

बाढीले जनधनको क्षति नहोस्, तत्काल उद्धार गर्न सकियोस् भनेर बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको नेतृत्वमा गएको टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रससहितको संयुक्त उद्धार टोली दुई वटा रबर बोटसहित नदी किनारमा उभियो । 

लाइफ ज्याकेट लगाएर उद्धारका लागि कर्णाली नदी किनारमा पुगेका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसका झन्डै ८० जनाको उद्धार टोली तयारी अवस्थामा रहँदा नदीको किनारमा दुई जना बगिरेहको दृश्य देखियो । बग्दै गरेका उनीहरु नदीको बीच भागमा पुगे । ठूलो बाढीमा दुई जना बगेको देख्दा एकछिन सबै डराए र आत्तिए ।

त्यसपछि उद्धारका लागि निर्देशन पाएपछि तीन वटै सुरक्षाकर्मीको टोली रबर बोट लिएर नदीमा पस्यो । सशस्त्र प्रहरीको उद्धार टोलीले बगिरहेका व्यक्ति नजिक पुगेर डोरी फाले । एक जना रबर बोटबाट हाम फाले अनि कर्णाली नदीमा बगिरहेकामध्ये एक जनाको १० मिनेटभित्रै उद्धार भयो । अर्का एक जनालाई पनि नेपाली सेनाको टोलीले १० मिनेटमै उद्धार गर्यो । त्यसपछि उनीहरुलाई नदीको किनारमा ल्याइयो र किनारमै रहेका रेडक्रसको टोलीले उनीहरुलाई प्राथमिक उपचार गरे । थप उपचारका लागि एम्बुलेन्समा राखेर एक जनालाई अस्पताल पठाइयो ।  

एकैछिन पछि फेरि दुई जना बगिरहेको देखेपछि सेना र सशस्त्र प्रहरीको टोली रबर बोट लिएर कर्णाली नदीमा गयो । सेना र सशस्त्रको टोली बगिरहेकालाई उद्धार गर्न नदीमा हाम फाल्यो । एक जनालाई सकुशल उद्धार गरे । अर्का एक जनालाई उद्धार गर्दागर्दै उद्धार टोलीका एक जना पानीमा डुबेर घाइते भए । नदीबाट उद्धार गरिएका पाँचै जनालाई रेडक्रसले प्राथमिक उपचार गरेपछि तीन जनालाई घर पठायो । बाँकी दुई जनालाई एम्बुलेन्समा राखेर थप उपचारका लागि अस्पताल पठाइयो ।

कर्णाली नदीमा बाढी आउँदै गर्दा उनीहरुमध्ये दुई जना नदी किनारमा माछा मारिरहेका थिए र नदीमा बगेका काठ दाउरा निकाल्दै गर्दा बगेका थिए । अरु दुई जना नदी किनारमा घर भएको हुँदा बाढीका कारण बगेका थिए, उनीहरुको नाम र ठेगाना पहिचान गरियो । नदी किनार गाउँका स्थानीयवासी नदीमा बाढी आयो, बचाऊ–बचाऊ, मान्छे बगायो भनेर चिच्चाइरहेका पनि थिए । 

यो सबै दृश्य वास्तविक नभइ काल्पनिक थियो । नदीमा बगेका उनीहरु सबै नदी किनारमा पहिलेदेखि नै उभिएका थिए, उनीहरु सशस्त्र प्रहरीमा र नेपाली सेनामा जागिरे थिए । 

उनीहरु आफैँ नदीमा हाम फालेका थिए र बगेको देखेपछि सुरक्षाकर्मी उद्धारमा खटिएका हुन् । बाढीमा फसेकालाई उद्धार कसरी गर्ने भनेर पहिलेदेखि नै सुरक्षाकर्मीका लागि अभ्यास गर्न योजना बनाइएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले बाढीको कृत्रिम घटना अभ्यास गरेको हो । बाढीका बेला हुन सक्ने मानवीय र भौतिक क्षति, खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हरेक वर्ष झैँ यस वर्ष पनि कर्णाली नदीमा कृत्रिम घटना अभ्यास आयोजना गरिएको हो । 

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ अनुसार कर्णाली नदीको दौलतपुरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रससहितको सहभागितामा बाढीको कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बर्दियाका प्रशासकीय अधिकृत नारायण ढकालले जानकारी दिनुभयो ।

हरेक वर्ष कर्णाली नदीमा आउने बाढीबाट अति जोखिममा रहेको राजापुर क्षेत्रमा कृत्रिम अभ्यासले गर्दा प्रहरी प्रशासनलाई यस क्षेत्रको वास्तविकता थाहा हुने र यस क्षेत्रका स्थानीयवासीलाई सजग हुन महत्त्वपूर्ण सन्देश जाने राजापुर नगरपालिकाका मेयर शिवप्रसाद थारुले बताउनुभयो । 

यस्तै प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका अध्यक्ष सन्तबहादुर सुनारले कृत्रिम घटना अभ्यासले बाढी आउँदा जनशक्ति, आवश्यक खोज तथा उद्धार सामग्रीको पूर्वतयारी गर्न सहयोग पुगेको बताउनुभयो । पहिलेका संरचनाअनुसार भेरी, सेती, कर्णाली र राप्ती गरी चार अञ्चल अहिलेका तीन प्रदेशको बीचमा रहेको सबैतिरबाट नदीले घेरिएको सबैभन्दा जोखिममा रहेको बर्दिया जिल्लालाई विपदबाट जोगाउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।   

यस्ता किसिमका अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारी हुने र त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको छ भन्ने सङ्केत मिलेको प्रमुख जिल्ला अधिकारी सुनारले बताउनुभयो । ६ नगरपालिका र दुई गाउँपालिका गरी आठ पालिका रहेको बर्दियाका सबै पालिकाले सामग्रीसहित बाढी पूर्वतयारीको अभ्यास गरिरहेको र अभ्यास गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । 

बाढी कृत्रिम अभ्यास कार्यक्रममा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र तथा सुरक्षा निकायमा रहेका रबर बोट, खोज तथा उद्धार सामग्रीको प्रयोग गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दियो । 
हिमाली र पहाडी क्षेत्रमा भारी वर्षा भएमा बर्दियाको कर्णाली नदी र बबई नदीमा बाढीको जोखिम हुन्छ । अविरल वर्षासँगै कर्णाली नदी र बबई नदीमा पानीको मात्रा बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको बर्दियाका प्रशासकीय अधिकृत नारायण ढकालले बताउनुभयो । 

कर्णाली नदीमा सुरक्षाकर्मीका तीन वटै अङ्गका गोताखोरलाई नदीको भेलमा प्रशिक्षण दिइएको हो । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले सुरक्षा निकायका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोरलाई उद्धार कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभयो । 

बाढीमा उद्धारका लागि सशस्त्र प्रहरीको टोलीलाई पहिलेदेखि नै तालिम दिएर तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बल बर्दियाका प्रमुख एसपी नरबहादुर रावतले बताउनुभयो । 

२०७१ साल साउन अन्तिममा बबई नदीमा आएको बाढीका कारण बर्दियामा ३४ जनाको ज्यान गएको थियो । बर्दियाका अधिकांश भू–भाग डुबानमा परेका थिए । बाढीले बारबर्दिया नगरपालिका १ ढुंग्रहवा गाउँ र गुलरिया नगरपालिका ४ को रामपुर टप्पु गाउँसमेत बगाएको थियो । 

यस्तै २०७४ सालको बाढीमा पनि चार जनाको ज्यान गएको थियो । २०७१ र २०७४ सालमा बबई नदीमा आएको बाढीका कारण ४० हजार बढी प्रभावित भएका थिए । कर्णाली नदीमा बाढी आउँदा राजापुर क्षेत्रमा बर्सेनि जनधनको क्षति हुँदै आएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया