नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ्ग चाँडै खुल्ने

 असार ९, २०७८ बुधबार १०:५४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टाटा मोटर्सकाे  नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले  नेपालमा नयाँ नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ्ग चाँडै खुलाउने घोषणा गरेको छ । 

अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित यस एसयूभी मुख्यतः वायु प्रदूषण रहित तथा पूर्ण रोमाञ्चकारी यात्रा अनुभव गर्न चाहने ग्राहकवर्गलाई लक्षित गरिएको सिप्रदीले जनाएको छ । यस विद्युतीय गाडीको बनावट मनमोहक छ भने यसलाई छरितो ढंगले द्रुत गतिमा हाँक्न सकिने, लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने र ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई तुरुन्त आफ्नै घरमा चार्ज गर्न मिल्दछ ।  

सन् २०२० को जनवरीबाट भारतमा बिक्री वितरण सुरु भएको यस गाडीले छोटो अवधिमै भारतीय बजारमा आफ्नो विशिष्ट पहिचान बनाइसकेको छ । आजको मितिसम्म यसले भारतीय विद्युतिय गाडी बजारको ६५ प्रतिशत हिस्सा ओगट्न सफल भएको टाटा मोटर्सको दाबी छ ।

नेपालले विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राख्दै गएको अवस्थामा यो गाडी लाभदायी हुने जनाइएको छ । टाटा पेसेन्जर भेहिकल युनिटको अन्तर्राष्ट्रिय व्यापार प्रमुख मायांक बाल्डी भन्नुहुन्छ, ‘पछिल्लो समय नेपाल सरकारले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने हेतुले विभिन्न नियम कानुनको तर्जुमा गरेको पाइन्छ । नेपालको यो उद्धेश्यको  सफलता प्राप्तिका लागि आफ्नो नयाँ नेक्सन इभी गाडी सहयोगी सिद्ध हुन सक्छ ।’

नयाँ नेक्सन इभीका प्रमुख विशेषता यस प्रकार छन् : 

नवीनतम बनावट

“इम्प्याक्ट डिजाइन २.०” अवधारणा अन्तर्गत तयार पारिएको यसको बनावट अरु भन्दा  भिन्न र आकर्षक देखिन्छ । गाडीको भित्री भाग फराकिलो हुनुको साथै यसमा ध्वनी व्यवस्थापन गर्न सकिन्छ । सात इन्चको हर्मन इन्फोटेन्मेंट प्रणाली भएको नेक्सनमा एन्ड्रोएड अटो र एप्पल प्ले पनि प्रयोग गर्न सकिन्छ ।

उत्कृष्ट कार्यक्षमता

विशिष्ट जिप्पी प्रविधिले सम्पन्न नेक्सनको  कार्यक्षमता उत्कृष्ट  रहेको पाइन्छ । ३०.२ केडब्लूएचको उच्च क्षमताको लिथियम आयोन ब्याट्री भएको यो गाडीको टर्क क्षमता २ सय ४५ एनएम रहेको छ । यस कारणले नेक्सन इभी केवल ९.९ सेकेण्डमै ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्दछ । ड्राइभ र स्पोर्ट्स गरी दुई “ड्राइभ मोड“ भएको यो गाडी ट्राफिक जामको अवस्था मात्र नभइ उकालो बाटोहरुमा पनि अत्यन्त उपयुक्त भएको पाइन्छ ।

दुरी र चार्जिङ

एक पटक चार्ज गरेपछि यस गाडीले बिना कुनै झन्झट २०० देखि २५० किलोमिटरको  दुरी तय गर्न सक्छ । यदि डीसी चार्जर प्रयोग गरियो भने नेक्सन इभी को ८० प्रतिशत ब्याट्री क्षमता ६० मिनेटमै प्राप्त गर्न सकिन्छ ।

विशेष सुरक्षा

नेक्सन इभी ग्लोबल एनक्याप रेटिङ्ग अनुसार यस गाडीमा सुरक्षाको लागि अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसको परीक्षण दशलाख किलोमिटरको लामो एवं भूगोल र मौसमको दृष्टिले अति चुनौतिपूर्ण बाटोहरुमा सफलतापूर्वक भइसकेकोे छ ।   
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया