काठमाण्डाै महानगरले ल्यायाे १८ अर्ब ९५ कराेडकाे बजेट, ब्युटी पार्लर र सैलुनमा पनि व्यवसाय कर नलिइने

 असार १०, २०७८ बिहिबार १६:३३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएकाे छ । बिहीवार काठमाण्डाै महानगरपालिकाको नगर सभाको नवौँ अधिवेशनमा उपमेयर हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७८/०७९ का लागि अनुमानित आय–व्ययको विवरणसहित बजेट कार्यक्रम प्रस्ताव गर्नुभएको हो । 

आउँदाे आर्थिक वर्षमा कोभिड–१९ महामारीले निम्त्याएको जटिल परिस्थितिलाई सम्बोधन गर्दै करदाताबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६/०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिबानामा छुट गर्ने प्रस्ताव गरिएको छ । 

यस्तै २०७८/०७९ को सम्पत्ति करमा ८० प्रतिशत छुट दिने र २०७८ पुस मसान्तसम्म सम्पत्ति कर चुक्ता गरेमा १० प्रतिशत थप छुट दिने प्रस्ताव महानगरले गरेको छ । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ एक अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । 

बजेटमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । 

महानगरपालिकाले आउँदाे आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क बेहाेर्न बजेट विनियोजन गरेको छ । यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ । 

‘मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधालाई पनि बजेटमा समावेश गरिएको छ । 

त्यस्तै महानगरपालिकाले ज्येष्ठ नागरिक मिलन केन्द्र, मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, अपाङ्गता भएका महानगरवासीका लागि सहयोग, मानव अधिकार प्रवर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवर्द्धन, उद्यमशिलता प्रवर्द्धन, विद्युतीय शासनको प्रवर्द्धन, युवासँग मेयर, पौरखी मेला, खेलकुदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिक लगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको छ । 

यस्तै महानगरले घरधनीले बुझाउने वार्षिक बहाल कर रकमको १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन रकम कम हुन्छ त्याे रकम छुट दिने प्रस्ताव बजेटमा गरेको छ । महानगरपालिका नगर सभामा पेस गरेको विधेयकमा ब्युटी पार्लर र सैलुन व्यवसायमा पनि व्यवसाय कर नलिने घोषणा गरेको छ । होटल, रेस्टुरेन्ट, पसल सञ्चालन गरेका व्यवसायीले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया