भारतले आयकर छुट दिएपछि नेपालमा पनि करको व्यवस्था पुनरावलोकन गर्न सुझाव

 माघ २४, २०८१ बिहीबार ८:५५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – भारतमा यसै हप्ता सार्वजनिक भएको बजेटमा आयकर छुट दिएपछि नेपालमा पनि यसबारे बहस शुरू भएको छ । भारतको बजेटका अनुसार अब वार्षिक १२ लाख भारुसम्म कमाउनेले आयकर तिर्नुपर्दैन ।

यसअघि सन् २०१४ मा साढे २ लाख, २०१९ मा ५ लाख, २०२३ मा ७ लाख भारुसम्म कमाउनेलाई आयकर छुट थियो । भारत सरकारले यो बजेटमार्फत नागरिकलाई निकै छुट र सुविधा पनि ल्याएको छ ।

भारत सरकारले १२ लाख भारुसम्मको आयमा करमा नलाग्ने र अरु करमा समेत कमी ल्याएपछि नेपालमा पनि करबारे बहस हुन थालेको हो । नेपालमा करका दरहरु निकै धेरै भएको र करको सदुपयोगसमेत नभएको भन्दै विज्ञहरुले अब करका दरमा पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

कर विज्ञ डाक्टर चन्द्रमणि अधिकारीले अब नेपालमा सबै प्रकारका करमा व्यापक पुनरावलोकनको जरुरी रहेको बताउनुभयो । भारतले एक वर्षमा १२ लाख भारु अर्थात् झण्डै २० लाख नेपाली रुपैयाँ कमाउनेलाई कर तिर्न नपर्ने बनाएको छ । तर नेपालमा २० लाख रुपैयाँसम्मको करयोग्य आयमा ३० प्रतिशतसम्म कर तिर्नुपर्छ ।

५० लाख रुपैयाँ भन्दा माथि कमाउनेले ३९ प्रतिशतसम्म कर तिर्नुपर्छ । भन्सार कर, आयकर, भ्याट, अन्त शुल्क, शिक्षा, स्वास्थ्य लगायतका करले नागरिक र उद्योगी व्यवसायी हैरान छन् ।

समग्रमा हेर्दा नेपालका करका दर दक्षिण एशियाकै महँगो भएको कर विज्ञ अधिकारीको भनाइ छ । भारतले औषधिमा पनि कर कम गरेको छ । देशमै उद्योग कलकारखाना बढाउने भनेर कच्चा पदार्थको करमा कटौती भएको छ ।

अनुदान र कर छुट पाएका भारतीय उद्योगीले सस्तोमा उत्पादन गर्छन, तर नेपालमा त्यस्तो छैन । यसै पनि कर महँगो भएकाले छिल्लो समय तीन वटा सरकारले मनलाग्दी कर लिँदा करदाता हैरान छन् ।

सङ्घीय सरकारले मात्रै २० थरी कर उठाउँछ भने प्रदेश र पालिकाले थप एक दर्जन शीर्षकमा कर उठाउँछन् । दोहोरो करको समस्या हटाउन तीन तहका सरकारको समन्वय हुन जरुरी रहेको कर विज्ञ चन्दमणि अधिकारीको भनाइ छ । उज्यालोसँगको कुराकानीमा उहाँले करको दर भन्दा पनि दायरा बढाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया