प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा : दुवै पक्षले बहस नोट बुझाए, रिट निवेदकतर्फको सुरुवाती बहस आज सकिने

 असार ११, २०७८ शुक्रबार ६:४७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभा विघटन सम्बन्धी परेका रिट निवेदनको पक्ष र विपक्षी दुवैतर्फका कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस नोट बुझाएका छन् ।

निवेदकको तर्फबाट ३६ जना वरिष्ठ अधिवक्तासहित दुई सय ६२ जनाले बहस नोट पेस गरेका छन् । रिट निवेदकको तर्फबाट बहस नोट बुझाएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत आग्रहबाट प्रेरित भएर प्रतिनिधिसभा विघटन गरिएको दाबी गरेका छन् । त्यस्तै, निवेदकको विपक्षी एवम् सरकार पक्षले पनि बहस नोट बुझाएका छन् । उनीहरुले राष्ट्रपतिको निर्णयमाथि न्यायालयमा प्रश्न उठाउन नमिल्ने जिकिर गरेका छन् ।

यसैबीच, रिट निवेदक पक्षले सुरुवाती बहस गर्ने समय आज सकिँदै छ । संवैधानिक इजलासले निवेदक पक्षलाई अब बहसका लागि ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएको छ । इजलासको आदेश अनुसार निवेदक तर्फका कानुन व्यवसायीलाई आज ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । आज रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेललाई ३०/३० मिनेटको समय दिइँदै छ । यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा. भीमार्जुन आचार्यले २०/२० मिनेट बहस गर्दैछन् ।

अधिवक्ता टिकाराम भट्टराईलाई बहसका लागि १५ मिनेट छुट्याइएको छ । अरु कानुन व्यवसायीहरुलाई न्यूनतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ । अस्ति बुधबारदेखि सुरु भएको बहसमा निवेदकको तर्फबाट हिजोसम्म १४ कानुन व्यवसायीले बहस गरिसकेका छन् । आज रिट निवेदकको तर्फबाट कानुन व्यवसायीहरुको सुरुवाती बहस सकिएपछि आइतबारदेखि रिट निवेदनको विपक्ष अर्थात सरकारी पक्षको बहस सुरु हुनेछ ।

सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ । विपक्षी अर्थात सरकारी पक्षको सुरुवाती बहस सकिएपछि रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय तय गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया