राष्ट्रिय सभा बैठकमा १६ अध्यादेश पेस

 असार १७, २०७८ बिहीबार १८:५९:३१ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभाको बिहीवार (आज) को बैठकमा १६ अध्यादेश पेस भएका छन् । आजदेखि सुरु भएकाे आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ तथा शपथसम्बन्धी अध्यादेश २०७८ अध्यादेश पेस गर्नुभयो ।

उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गर्नुभयो ।

यसैगरी उपप्रधानमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ बैठकमा पेस गर्नुभयो ।

मन्त्री नेम्वाङले रेल्वे अध्यादेश २०७८ पनि बैठकमा पेस गर्नुभयो । आजकै बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ पेस गर्नुभयो । 

बैठकले राष्ट्रिय सभाका पूर्वसदस्य गङ्गादत्त जोशी, डा. शङ्करप्रसाद उप्रेती, ऐश्वर्यलाल प्रधानाङ्ग, प्रा. विदुर पौडेल, प्रतिनिधि सभाका पूर्वसदस्य एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा, मोतीप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, रत्नप्रसाद न्यौपाने, योगनारायण यादव एवम् तत्कालीन संविधान सभा सदस्य दिनेशचन्द्र यादव, अशोक कोइराला, नवीन्द्रराज जोशी, लक्ष्मीदेवी भण्डारी, मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का, रबनी चौधरी, तप्तबहादुर विष्ट र पशुपति चौलागाईँको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

बैठकमा यसअघि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुभएको थियो । साथै उहाँले राष्ट्रपतिको कार्यालयबाट विभिन्न मितिमा सरकार गठन, मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन र जिम्मेवारी हेरफेरसम्बन्धी राष्ट्रिय सभालाई प्राप्त पत्रको ब्यहोरा पनि पढेर सभालाई जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय सभाको अर्काे बैठक यही असार २० गते दिउँसाे १ बजे बस्नेछ ।   

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया