‘सरकारले परदेशीका समस्या पनि सुनोस् न !’

 असार १८, २०७८ शुक्रबार १८:१८:५३ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

नारायण कोइराला / पाल्पा, हाल यूएई

खाडीमा प्रचण्ड गर्मी छ । शरीरले पसिनाका धारा बगाउन छाडेकाे छैन । तर पनि काम चलिरहेको छ । त्यसमा नै हामी खुसी हुनुपर्ने अवस्था छ । कति साथीहरु त काम नभएर बिचल्ली परेका छन् । 

केही दिन पहिले हामी काम सकेर सिधै कोठा नगइ अस्थायी कोरोना टेस्ट अस्पताल तिर लाग्यौँ । चर्को घाममा लाइन लाग्नु पर्ने । हामी लाइनमा बस्दै पसिना पुछ्दै थियौं । लाइनमा अरु पनि नचिनेका नेपाली साथीभाइ हुनुहुँदो रहेछ । उहाँहरुको कुरा सुन्दा समस्यामा परेको बुझियो । अपरिचित भए पनि केही कुरा सोध्न मन लाग्यो । हामीहरू समस्याको बारेमा कुरा गर्न लाग्यौ । उहाँहरूसँग सामान्य परिचय भयो । नेपालको विभिन्न जिल्लाका साथीभाइ हुनुहुँदोरहेछ । सम्पर्क नम्बर साटासाट गरेर मिल्छ भने भोलि भेटौं भनेर छुट्टियौँ ।

पछिल्लो दिन साँझ हामीहरू पार्कमा भेट भयाैँ । पार्कको हरियालीमा सबैजना रमाउँदै थिए । हरियो दुबोमा बस्नुको मजा नै अर्कै । सामाजिक दुरीमै बसेर हामीहरू गफिन थाल्यौँ । गफ अगाडि बढ्दै गयो, साथीभाइहरु आफ्नो समस्या बताउन थाल्नुभयो । उहाँहरू बेरोजगार भएर बसिरहनुभएको रहेछ । कामको खोजी गर्दा पनि भेटाउनु भएको रहेनछ । यस्तै कोहीलाई कम्पनीले कामबाट निकालेको अवस्था ।

गफ चलिरहेको थियो, उताबाट प्रहरीको गाड़ी आयो । सबैको ध्यान उतै मोडियो । फेरि बिग्रिएका माक्स मुखमा मिलाउँदै कुरामा जोडियौ । काम पनि छैन, काम खोज्दा पनि भेटाउन सकिएको छैन । भिसाको म्याद सकिएको छ । यस्तोमा उहाँहरूसँग तीन विकल्प थिए । कि जरिबाना तिर्नुपर्ने कि तत्काल काम खोजेर अर्को कम्पनीको भिसा लगाउनु पर्ने । तेस्रो विकल्प घर जाने । तर घर जान पनि तुरुन्त टिकट पाउने अवस्था छैन । जहाजहरू बन्द छन् । चाटर्ड गरिएका विमानमा हामीजस्ता कामदारले तुरुन्त टिकट पाउने अवस्था छैन । टिकट पाइहाले पनि पैसा काँबाट तिर्ने, झन् समस्या हुन्छ ।

कमाइ नभएको अवस्थामा जरिबाना तिर्ने पैसाको जोहो झन् कसरी गर्ने ? जति समय बित्दै गयो उती बढी जरिबाना तिर्नुपर्ने हुन्छ । जागिर खोजेर काम थाल्नको लागि त्यो पनि सजिलो छैन । हातमा सीप पनि नभएको अवस्थामा काम पाउन कठिन थियो ।

यसरी यी तीन वटै विकल्प त्यति सहज थिएनन् । खानबस्न मात्र पुगे पनि काम पायो भने सबैलाई सजिलो हुने देखियो । हामीले जसरी हुन्छ, काम खोज्न सहयोग गर्ने वाचा गर्यौं । 
कतिपय साथीहरूको घरको आर्थिक अवस्था पनि कमजोर नै रहेछ । परदेश आउँदाको व्याजे ऋण पनि बाँकी नै रहेछ । यो परदेश हो जसलाई पर्छ उसलाई नै थाहा हुन्छ । परदेशमा साथीभाइको मन रुँदा आफ्नै मन रोएको अनुभव हुन्छ । किन,किन आफ्नो देशमा छँदा भन्दा परदेशमा मित्रता झनै गहिरो हुँदो रहेछ ।

परदेश आउनेहरुले यस्तो अवस्थामा आफ्नो सरकारबाट पनि केही आशा राखेका हुन्छन् । यसरी विचल्लीमा परेको अवस्थामा म छु नि भन्ने कोही नहुँदा, समस्या सजिलै सुनिदिने निकाय नहुँदा परदेश साँच्चिकै अन्जान ठाउँ लाग्न थाल्छ । दूतावासमा गयो भने कागजात, प्रमाण पेश गर्दै समय बित्छ, काम हुँदैन ।

यसरी बिचल्ली परेको अवस्थामा नेपाल फर्किने वातावरण बनाउ यहाँको दूतावासले प्रयास गर्ने हो । तर त्यस्तो केही पनि भएको देखिदैन । पैसा हुनेले टिकट काट्ने नहुनेले टुलुटुलु हेरेरै बस्ने बाध्यता छ अझै नि । समस्यमा परेकालाई सहजै घर फर्किन पाउने वातावरण बनाइदिए पनि विदेशमा रहेका नेपाली श्रमिकहरुको घाउमा मलम लाग्ने थियो । रुँदै हिँड्न पर्ने अवस्था आउने थिएन । 

आफ्नो फाइदाको लागि जे पनि गर्ने सरकार विदेशी भूमिमा आफ्नै जनता रुँदा सहयोगको लागि कुनै ठोस नीति लिएर किन आउँदैन । यसरी, परदेशमा समस्या परेको बेला नेपाली श्रमिकको हक हितको लागि कोही नरहेको भन्ने सबैको एउटै अनुभव सुनियो ।  

छोटो बसाइमा उहाँका समस्या हामीले सुन्यौं । केही सल्लाह, केही आश्वासन हामीले दियौं । रात छिप्पिँदै थियो, बिस्तारै हामीहरु छुट्टियौँ । जाँदाजाँदै एकजना साथीले भन्यो, ‘सरकार आफ्नाे राजनीति गर्न मै मस्त छ यार, हाम्रो समस्या सुनोस् न कहिल्यै त ।’
 

अन्तिम अपडेट: साउन १६, २०७८

तपाईको प्रतिक्रिया