रत्ननगर नगरपालिकाले दुई वर्षमुनिका बच्चा छाडेर विदेश जान महिलालाई अनुमति नदिने

 असार १९, २०७८ शनिबार १३:०:७ | रासस
unn.prixa.net

चितवन - रत्ननगर नगरपालिकाले दुई वर्ष नहुँदै बच्चालाई आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने प्रस्ताव पारित गरेको छ ।

नगरपालिकाले याेसहित नवौं नगर सभा बजेट, नीति तथा कार्यक्रमसहित विभिन्न १७ वटा प्रस्ताव पारित गरेकाे छ । यही असार ६ गतेदेखि सुरु भएकाे नगर सभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रमसहित महत्त्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको नगरपालिकाले जनाएकाे हाे।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि एक अर्ब २६ करोड रुपैयाँको बजेट पारित गरेको छ । नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत पारित गरेको छ । नगर सभाले बाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइ सराइ तोकिएको समयभित्र गरी पञ्जीकरणलाई व्यवस्थित गर्ने, नगरभित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमति लिनु पर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै प्रस्तावहरुमा सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, नगर सभाबाट पारित भएको बजेट शीर्षक र रकम सभाको अनुमतिमा मात्र शीर्षकान्तर गर्ने, पर्यटन प्रहरीको भवन निर्माण गर्न डेढ कठ्ठा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो ।

त्यसैगरी नगरपालिकाले पूर्वाधार निर्माण गर्दा भवनले चर्चेको जग्गा नगरपालिकाको नाममा ल्याउन प्रक्रिया सुरु गर्ने, नगरपालिकालाई आवश्यक ऐन, कानुन बनाएपछि अनुमोदन  गराउने गरी लागू गर्ने, आउँदाे आर्थिक वर्षको काम गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने, बालमैत्री नगरपालिका घोषणा गर्न बाँकी रहेका वडाको कार्य प्रारम्भ गर्ने, हेरफेर भएका करका दर स्वीकृत गर्ने निर्णय भएको छ ।

आउँदाे आर्थिक वर्षको आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गर्ने, कर्मचारीको तलबी प्रतिवेदन पास गरी तलब भत्ता खुवाउने, कर्मचारीको दरबन्दी पुनरावलोकन गर्ने, नियमित गर्नुपर्ने बेरुजु नियमित गर्ने लगायतका प्रस्ताव पारित गरिएको वनले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया