एनआरटीद्वारा दुई विदेशी खेलाडी अनुबन्धित

 असार १९, २०७८ शनिबार १७:३९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैको पुरानो फुटबल क्लब न्युरोड टिम (एनआरटी)ले असोज पहिलो हप्ताबाट हुने शहीद स्मारक ए डिभिजन लिगका लागि आज दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

एनआरटीले काठमाण्डाैमा एक कार्यक्रम गरी असोज ३ गतेदेखि हुने फरक ढाँचाको लिगका लागि अनुबन्ध गरेको हो । क्लबले खेलाडी​ मासुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरेको हो । दुई विदेशी खेलाडीलाई १० महिनाका लागि सम्झौता गरेको हो । सम्झौता भएसँगै दुवै जना खेलाडीले एनआरटीको जर्सीमा ए डिभिजन लिग खेल्नेछन् । दुवैले टोलीलाई उपाधि दिलाउनका लागि प्रयास गर्ने बताए ।

नयाँ ढाँचाको लिग भनिएको ए डिभिजन लिग यो संस्करणको सुरुआतमा सिंगल राउन्डका खेल हुनेछन् । त्यसपछि दोस्रो राउन्डमा शीर्ष आठमा परेका टोलीले उपाधिका लागि पुन: लिग खेल्ने प्रावधान अखिल नेपाल फुटबल संघ (एन्फा)ले बनाएको छ । यसै कारण फरक ढाँचाबाट सञ्चालन हुन लागेको लिगका लागि एनआरटीले पुराना खेलाडीलाई समेटेर प्रशिक्षण दिइरहेको छ । अघिल्लो संस्करणमा पनि प्रशिक्षण दिएका राजु काजी शाक्यलाई क्लबले प्रशिक्षकको रुपमा निरन्तरता दिएको छ । प्रशिक्षक राजुकाजी शाक्यले नयाँ विदेशी खेलाडीको अनुबन्धले टोलीमा हौसला मिलेको प्रतिक्रिया दिए । शाक्यले एनआरटीले उपाधि उचाल्ने लक्ष्यका साथ आउँदो प्रतिस्पर्धा गर्ने बताए ।

एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने प्रावधान अन्तर्गत दुई खेलाडीलाई  अनुबन्ध गरेको हो । आगामी दिनमा थप खेलाडी अनुबन्ध गरिने क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले बताए । नयाँ संस्करणका लिगका लागि क्लबले पुराना खेलाडीलाई निरन्तरता दिने बताएको छ । एनआरटीले बि.स २०१७, २०१९, २०३५ र २०५२ सालमा सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो ।

चार पटकको च्याम्पियन एनआरटीले मिडफिल्डर मोसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिग (एनएसएल) काठमाण्डाै रेजर्स एफसीबाट खेलेका थिए । उनीहरुकै प्रदर्शनबाट काठमाण्डाै रेजर्सले उपाधि उचालेको थियो । मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए । क्लबमा अहिले १२ पुरानै खेलाडी रहेको पनि क्लबले जनाएको छ ।  

एनआरटीले लिगका लागि करिब १ करोड ६० लाख बजेट छट्याएको जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा तीन विभागीय टोली सहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्ग्याएको सरस्वती यो सिजन हुने छैन ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया