अलमुताइरीकाे आराेप पुष्टि भए राजीनामा दिन तयार छु : पंकजविक्रम नेम्वाङ

 साउन १०, २०७८ आइतबार २०:१५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आधिकारिक रूपमा नआएको जनाएको छ । उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन बाध्य भएको भन्दै अलमुताइरीले राजीनामाकाे घोषणा गरेका थिए । तर उपाध्यक्ष नेम्वाङले आफूमाथि आक्षेप लगाउने षड्यन्त्र भएको प्रतिक्रिया दिनुभएकाे छ । 

अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता किरण राईका अनुसार प्रशिक्षक तनावमा रहेको र आराम गर्न चाहेको भन्दै एन्फामा पुगेका हुन् । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिन लागेको सामाजिक सञ्जालमा लेखेका थिए ।

तर पंकज नेम्वाङले भने प्रशिक्षकको अभिव्यक्तिले आश्चर्य भएको प्रतिक्रिया दिनुभएकाे छ । नेम्वाङले मुख्य प्रशिक्षकले आफूलाई जोडेर राजीनामा दिन बाध्य भएको आक्षेप आउँदाे चुनावका निम्ति षडयन्त्र भएको र यसबारे अध्यक्ष कर्मा छिरिङ शेर्पालाई छानबिनका लागि आग्रह गरेको बताउनुभयाे । उहाँले आरोप पुष्टि भए आफू तत्काल राजीनामा दिन तयार भएको प्रतिक्रिया दिनुभयाे ।

अखिल नेपाल फुटबल सङ्घले गएकाे चैतमा कुवेतका प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । एएफसी कोचिङ इन्स्ट्रक्टरसमेत रहेका अब्दुल्लाहलाई एन्फाले एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएसँगै नेपालले कुवेतमा विश्वकप छनाेटका तीन खेल खेलिसकेको छ भने इराकसँग एक मैत्रीपूर्ण खेल पनि खेलेको छ । साफ च्याम्पियनशिपलाई मध्यनजर गर्दै उनकै प्रशिक्षणमा नेपालले बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेको छ । यद्यपि साफ च्याम्पियनशिपको आयोजना कहाँ हुने यकिन भइसकेको छैन ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया