बाघ बढेसँगै चुनौती पनि बढ्यो, ‘मानिसकै कमजोरी र लापर्बाही मुख्य कारण’

 साउन १४, २०७८ बिहिबार २०:१४:४३ | भावुक योगी
unn.prixa.net

बर्दिया – आज विश्व बाघ दिवस । ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिएको छ । बर्दियामा बाघको सङ्ख्या बढेसँगै पछिल्लो दुई वर्षयता बाघ र मानवबीच द्वन्द्वको घटना बढ्न थालेपछि चुनौती थपिएको हो ।

बर्दियामा आर्थिक वर्ष २०७६/०७७ मा ६ जना, २०७७/०७८ मा १२ जना र यस आर्थिक वर्षको अहिलेसम्म एक जना गरी १९ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका बर्दिया निकुञ्जले जनाएको छ । यसैगरी नेपाल–भारत सीमा क्षेत्रमा पर्ने राजापुरको जङ्गलमा एक भारतीयको बाघको आक्रमणबाट दुई वर्षअघि ज्यान गयो । यस्तै बाघकै आक्रमणबाट बाँकेमा दुई र कैलालीमा एक जनाको ज्यान गएको छ । बर्दिया निकुञ्ज आसपासका जिल्लामा गरी दुइ वर्षको अवधिमा पाटे बाघको आक्रमणबाट २३ जनाको ज्यान गएको छ । 

बाघ आक्रमणका घटना भएका ठाउँमा गइ निकुञ्जले बाघ ‘रेस्क्यु’ गर्ने गरेको छ । गएको आर्थिक वर्षमा मात्रै ६ वटा समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा १३ वटा बाघ पाइने देशका प्रमुखहरूको भेलामा सन् २०२२ सम्ममा नेपालले बाघको सङ्ख्या दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । नेपाल लक्ष्य नजिक पुगिसकेको छ । नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको सङ्ख्या एक सय २१ बाट बढाएर दुई सय ५० पुर्याउने लक्ष्य राखेकोमा अहिले बाघको सङ्ख्या दुई सय ३५ पुगिसकेको छ । 

नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाए पनि बाघको सङ्ख्या बढिरहँदा सँगै जोखिम पनि बढेको छ । बर्दियामा पाटे बाघ आक्रमणका घट्ना बढेपछि यस वर्ष विश्व बाघ दिवसका अवसरमा हुने औपचारिक कार्यक्रममा खासै रौनक देखिएन । स्वतः स्फुर्त रूपमा संरक्षणमा लागेका निकुञ्ज आसपासका युवाहरूको समूह ‘चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान’ का अध्यक्ष हेमन्त आचार्यले बाघलगायत अन्य दुर्लभ वन्यजन्तुको संरक्षणमा लागेका युवासमेत बाघ आक्रमणका घटना बढ्न थालेपछि निराश बनेका बताउनुभयो । सरकारले द्वन्द्व बढ्न नदिन विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँको माग छ ।

बाघको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गरेको बर्दियामा बाघ र मानवबीच द्वन्द्व न्यूनीकरण गर्न बर्दिया निकुञ्जले रणनीतिक योजना बनाएर अघि बढेको छ । यस्तै नेपाल सरकारले तत्काल छुट्टै विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको संरक्षणर्मीहरू बताउँछन् ।

बाघ आक्रमणका घटना किन बढेको छ, बाघको आक्रमणबाट हुने घटना बढ्न नदिन निकुञ्जको प्रयास र स्थानीयवासीले अपनाउनुपर्ने सावधानीलगायतका सन्दर्भमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठसँग कुराकानी गरेका छौँ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ

आज विश्व बाघ दिवस, बर्दियामा पछिल्लो दुई वर्षयता पाटे बाघको आक्रमणबाट मानवीय क्षति बढेको छ, बाघको आक्रमणका घटना किन बढेको होला ?

बर्दिया निकुञ्ज र आसपासको वन क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षतिको घटना पछिल्लो दुई वर्षयता बढेको देखिन्छ । निकुञ्जमा बाघको सङ्ख्या बढेको अवस्था छ । अहिले निकुञ्जमा वयस्क पाटे बाघको सङ्ख्या ८७ पुगेको छ । बाघको सङ्ख्या बढेपछि जोखिम बढ्नु स्वाभाविक हो । हाम्रो बर्दिया निकुञ्जबाहिरका वन क्षेत्रमा वासस्थान बढ्दो छ, मानव वस्ती नजिक छ र सामुदायिक वन क्षेत्रमा मानवीय क्रियाकलाप एकदमै बढ्दो छ, जुन क्षेत्र बाघको वासस्थान क्षेत्र पनि हो । यी कारणले गर्दा मानवीय सावधानी कम हुँदा पनि अहिले बाघको आक्रमणका घटना बढेका हुन सक्छन् । विशेषगरी बर्दिया निकुञ्जसँग जोडिएको खाता जैविक मार्ग क्षेत्रमा बाघ आक्रमणका घटना बढ्दो छ । त्यो क्षेत्र एकदमै बाघको ओहोरदोहोर गर्ने क्षेत्र हो । त्यस्तै कोरोना महामारीपछि धेरै जना गाउँ फर्किएको र आम्दानीका स्रोत नहुँदा धेरै समय जङ्गल प्रवेश गर्ने भएकाले पनि आक्रमणका घटना बढेको पाइन्छ । 

कस्ता क्षेत्रमा बाघ आक्रमणका घटना भइरहेको पाउनुभएको छ ?

बर्दियामा पछिल्लो दुई वर्षयता बाघको आक्रमणबाट १९ जनाको ज्यान गएको घटना रेकर्डमा छ । यी आक्रमणका घटना वन क्षेत्रमै भएका छन् । निकुञ्ज क्षेत्रभित्र चार जनाको ज्यान गएको छ, त्यसमध्येमा दुई जना निकुञ्जका कर्मचारीमध्ये एक जना निउरो टिप्न निकुञ्ज प्रवेश गरेका बेला र अर्का एक जना राजमार्गमा रातिको समयमा मोटरसाइकल चलाइरहेका बेला आक्रमण भएको छ । कुनै पनि बाघले गाउँ क्षेत्रमा आएर मानवलाई आक्रमण गरी ज्यान लिएको अवस्था छैन । मानवीय क्रियाकलाप वन क्षेत्रमा बढेको पाइएको छ, हामीले सावधानी अपनाउन नसक्दा घटना बढेको देखिन्छ । 

बाघको आक्रमणका घटना बढ्न नदिन निकुञ्जले के प्रयास थालिरहेको छ त ?

बढिरहेको मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सुरुमा त बाघले घटना घटाइरहेका क्षेत्रमा अगुगमन गरेर समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिने काम गरेका छौँ । पछिल्लो दुई वर्षमा हामीले ६ वटा बाघलाई नियन्त्रणमा लिएका छौँ । दोस्रो, जुन क्षेत्रमा यस्ता घटना भइरहेका छन्, त्यो समुदायमा जोखिम क्षेत्र रहेका ठाउँमा स्थानीयवासीलाई बाघको आनीबानीबारे सचेत गराउने गरिरहेका छौँ । आउँदा दिनमा मानवीय क्षति नहोस् भनेर त्यो काम गरेका छौँ भने निकुञ्जभित्र पनि पाटे बाघको वासस्थानँंग सम्बन्धित पाटोलाई एकदमै बढी जोड दिएका छौँ । आहारा, प्रजातिलाई आवश्यक पर्ने घाँसे मैदान, पानीका स्रोतको व्यवस्थापन गर्ने काममा पनि जोड दिएका छौँ । मानव र बाघबीचको द्वन्द्व मात्रै नभएर मानव र अन्य वन्यजन्तुबीच सह–अस्तित्व कायम गर्नुपर्छ भन्ने हिसाबले बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी रणनीतिक योजना बनाएका छौँ । यसमा सरोकारवाला पनि सहभागी हुनुहुन्छ । 

पाटे बाघको आक्रमण हुने त्यस्ता क्षेत्रका स्थानीयवासीले के गर्नुपर्छ ?

आक्रमणका घटना असावधानीले नै बढेका हुन् । जुन–जुन क्षेत्र बाघको वासस्थान नजिक छ, त्यस्तो क्षेत्रमा सकभर नजाने, जानै परेमा एक्लै नजाने, समूहमा जाने गर्दा हामी बाघको आक्रमणबाट बच्न सक्छौँ । बालबालिका र वृद्धवृद्धालाई पनि बाघ पाइने वन क्षेत्रमा जान नदिने । त्यसैगरी रातिको समयमा यस्ता क्षेत्रमा हिँडडुल नगर्ने, मोटरसाइकल र साइकलमा पनि नहिँड्ने । वन क्षेत्रसँग जोडिएको वस्तीमा झाडी–बुट्यान छ भने त्यसलाई सफा गर्ने, उज्यालोको व्यवस्था गर्ने र बाघको आनीबानी थाहा पाइयो भने यस्ता घटना कम गर्न सकिन्छ । बाघलगायत अन्य वन्यजन्तुको वासस्थान वर–पर आएको छ भने नजिकको निकुञ्जको पोस्ट, हेडक्वाटर, प्रहरी अथवा वन कार्यालयलाई सम्पर्क गर्नुस् । जसका कारण हामी तत्काल त्यहाँ पुगेर व्यवस्थापन गर्न सहयोग गर्नेछौँ । 

विश्व बाघ दिवसका अवसरमा संरक्षणकर्मी तथा स्थानीयवासीलाई के आग्रह गर्न चाहनुहुन्छ ?

वास्तवमै हाम्रो प्रकृतिको सबैभन्दा राम्रो उपहार नै बाघ हो । बाघ शृङ्खलाको सबैभन्दा माथिल्लो स्थानमा रहेको छ । यसलाई हामी अम्रेला प्रजाति पनि भन्दछौँ । यसको संरक्षण गरियो भने स्वतः यस अन्तर्गत रहेका वन्यजन्तु र वासस्थानको समेत संरक्षण हुने भएकाले बाघको संरक्षण महत्त्वपूर्ण छ । समग्र पारिस्थितिक प्रणालीको यो सूचक पनि हो । बाघ संरक्षण आर्थिक र सामाजिक हिसाबले पनि महत्त्वपूर्ण छ । स्थानीय समुदायको रोजगारी सिर्जना गर्ने, पर्यटन र देशको समृद्धिमा पनि यसले योगदान पुर्याउँछ । हामी सबैले सहकार्य गर्यौँ भने बाघको संरक्षण गर्दै बढी भन्दा बढी फाइदा लिन सक्छौँ ।  यसमा हातेमालो गर्न सबैलाई अनुरोध गर्दछु, धन्यवाद ।  

अन्तिम अपडेट: असोज २, २०७८

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया