पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

 साउन १९, २०७८ मंगलबार ८:३१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज एक विज्ञप्ति निकालेर खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । साथै खड्काले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको जनाएका छन् ।

सन् २००९ मा कप्तान भएका खड्काले २०१९ मा कप्तानी छोडेका थिए ।

खड्काले नेपालका लागि १० एक दिवसीय तथा ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले एक दिवसीयमा ३ सय १५ र टी–ट्वान्टीमा ७ सय ९९ रन बनाए । साथै एक दिवसीयमा नौ र टी–ट्वान्टीमा आठ विकेट लिन सफल भएका थिए ।

खड्का नेपालका लागि एक दिवसीय र टी–ट्वान्टी दुवैमा पहिलो शतक प्रहार गर्ने खेलाडी पनि हुन् । आईसीसी क्रिकेट लिग डिभिजन ५ बाट खेल्दै नेपाललाई एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यता प्राप्त राष्ट्र बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए।

खड्काको कप्तानीमा नेपालले सन् २०१४ को टी–ट्वान्टी विश्वकप खेल्यो जुन नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहभागिता थियो । अनि सन् २०१८ मा नेपालले एक दिवसीयको मान्यता पाएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • Badri Dhakal

    Aug. 3, 2021, 6:54 p.m.

    नेपाली क्रिकेटलाई यो उचाईमा पुर्याउन तपाईले गरेको योगदानको समग्र नेपालीले सधैं स्मरण गरिरहनेछन । तपाईले सन्यास लिए पनि नेपाली क्रिकेटलाई तपाईको अभिभावकत्व र मार्ग निर्देशन सधैं आवश्यक हुनेछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया