मेलम्चीका बाढी पीडित भन्छन्– 'बाढीले ढुङ्गा बगाउँदा भूकम्प जसरी थर्काउँछ, निद्रा लाग्दैन'

 साउन १९, २०७८ मंगलबार १३:३७:१ | रासस
unn.prixa.net

तस्बिर : रासस

सिन्धुपाल्चोक - असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एकसय घर र टहरा बगाएको छ । यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका र  सयौँ रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो । लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची,दोलालघाटसम्म जोखिम बढाएको छ ।

खोलाभन्दा माथि हेलम्बु चुरेटारमा बसोबास गर्दै आउनुभएकी  सुप्रभा गिरीले भन्नुभयो, 'खेत त सबै लग्यो, घर पनि जोखिममा छ बाढीले ढुङ्गा बगाएर ल्याउँदा भूकम्प जसरी थर्काउँछ निद्रा लाग्दैन।' उहाँले जतिसक्दो चाँडो भ्रेमाथानको पहिरो अनुगमन गरी पीडितलाई उचित ठाउँमा व्यवस्थापन गर्न माग गर्नुभयो ।

लगातारको बाढीले सोमवार राति मेलम्ची बजारका सात घर बगाएको छ भने बजारका धेरै घर जोखिममा छन् । त्यस्तै हेलम्बु र मेलम्चीको सिमानामा रहेको ग्याता गुम्बा, हेलम्बु किउलका धनपति भण्डारीलगायतको घर र टहरा , तालामाराङ तेर्से स्कूल छेउका दुई घर र नेपानेका केही घर पनि बगाएको छ भने अन्य धरै घर जोखिममा छन् ।

यसैगरी एघार पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ घर र पुरानो बजारको एक घर बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा धैरै घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । क्षतिको अन्य विवरण आउने क्रममा रहेको उहाँको भनाइ थियो ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, नेपाने, तालामाराङ, मेलम्ची र बाहुनेपाटीका अधिकांश तटीय क्षेत्रमा रहेका घर, विद्यालय, सामुदायिक भवन, खेत, बाटो र बिजुलीका पोल जोखिममा छन् । बाढीले मेलम्ची–१२ मा रहेकामध्ये पहाडी लोकमार्ग तथा मेलम्ची, ईन्द्रावती, चौतारा र पाँच पोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी  पुल पनि जोखिममा परेको छ ।

मेलम्ची, चनौटे, तालामाराङका बस्ती जोगाउन लागेको स्थानीयवासीको प्रयास सबै असफल भएको छ । हिँउदमा त्यही घरमा गएर बस्ने पीडितहरूको सपना अधुरै भएको छ । 'नदीको धार परिवर्तन भएपछि त्यही घरमा बस्ने सोचले निरन्तर खोला छेक्नका लागि हामीले पहल गरिरहेका थियौं तर आज घर खोलामै मिल्यो',  पीडित हरिशरण श्रेष्ठको गुनासो थियो ।

अहिले पनि मेलम्ची नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मेलम्ची बजार जोगाउन लागि परेका छन् । अहिलेसम्मका तटबन्ध सबै खोलाले बगाएको छ । हेलम्बु गाउँपालिकाको चनौटे बजारबाटै अहिले खोला बगिरहेको स्थानीय हस्त पण्डितले जानकारी दिनुभयो। 

तत्काल सुरक्षित ठाउँको खोजीमा पीडित लागि परेका छन् । सडक सञ्जाल र विद्युतबाट वञ्चित पीडितको अवस्था निकै कष्टकर छ । एक जना बिरामी भए पनि उपचारका लागि अस्पताल पुर्याउन  हेलिकप्टरभन्दा अरु विकल्प नभएको र खाद्य सङ्कट हुनसक्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

उहाँले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा तत्काल स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । पक्की पुल सबै खोलाले लगिसक्यो बाँकी झोलुङ्गे पुल पनि केही ठाउँमा  मात्र छन् । पैदल हिँड्ने बाटोसमेत नपाएका पीडितले निकै कष्ट भोग्नुपरेको छ । असार १ गते राति बाढी आएपछि सबैभन्दा धेरै क्षति भएका पीडितले अहिलेसम्म राहत र उद्धारका काम नगरिएकाले  सरकार मूकदर्शक बनेको आरोप लगाएका छन् ।

बाढी आएपछि सांसद, मन्त्री, उपप्रधानमन्त्रीका साथै तत्कालीन प्रधानमन्त्री केपी ओलीसमेतले स्थलगत निरीक्षण गर्नुभयो । सरकारका तर्फबाट आफूहरूका  लागि पाँच लाख रुपैयाँ वितरण गर्ने घोषणा गरेको सरकारले त्यो रकम कहिले पाउने अहिलेसम्म अत्तोपत्तो छैन । बाढी आएको ५०  दिन भइसक्दा पनि सरकारबाट पहल नहुँदा आफूहरू झनै पीडित भएको उनीहरूको गुनासो थियो ।

प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बाढी आएको मुहान क्षेत्र भ्रेमाथानको अध्ययन नगरी तल्लो भेगमा कुनै पनि काम थाल्ने अवस्था नभएको बताउनुभयो। तारजाली राखेर बस्ती जोगाउने प्रयास गरिए पनि हिमाली क्षेत्रलाई व्यवस्थित नगरि तटीय क्षेत्रमा गरेको कामको प्रभावकारिता नहुने उहाँको भनाइ थियो ।

विभिन्न सङ्घ संस्थाको पहलमा सुरक्षित मानिएको ठाउँमा निर्माणाधीन अस्थायी आवास अनिश्चित देखिएको छ । सडक सञ्जाल र पुल–पुलेसा ध्वस्त भएकाले सामान ओेसारपसार गर्ने  वैकल्पिक बाटो छैन । घर निमार्णमा आवश्यक ट्रस, जस्तापाता, सिमेन्ट, अन्य आवश्यक सामग्री नहुँदा बाढी पीडितहरु अहिलेसम्म चुहिने पालमुनि बस्न बाध्य छन् ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया