त्रिदेशीय सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा, आउँदाे मंगलबार ओमान जाने

 भदौ ५, २०७८ शनिबार १३:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिदेशीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीव्र गतिका बलर गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर गुल्सन पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए । सिरिजका लागि घोषणा भएको टोलीमा स्थान बनाएका गुल्सनले पहिलो पटक राष्ट्रिय जर्सी पहिरिने मौका पाएका हुन् ।

गुल्सनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावाकर र रोहितकुमार पौडेल पुनः राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । त्रिदेशीय सिरिजमा नेपालले ओमान र अमेरिका सँग २/२ खेल खेल्ने छ भने उक्त सिरिज अगाडि पीएनजीसँग दुई एक दिवसीय खेल खेल्ने छ ।  त्यसका लागि नेपाली टोली मंगलबार बिहान ८ बजे सलाम एअरबाट ओमान जाने तालिका रहेको छ । नेपालले सिरिज र पीएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्ने छ । त्रिदेशीय सिरिज अगाडि पीएनजीसँग नेपालले भदौ २० पहिलो र भदौ २३ दोस्रो खेल खेल्नेछ । ओमानमा नै रहने टोलीले चार दिन पछि त्रिदेशीय सिरिज खेल्नेछ । यद्यपि खेल तालिका भने सार्वजनिक भएको छैन ।

लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई खेलमा जित निकालेकाे छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । पीएनजीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया