दुई पूर्वप्रधानन्यायाधीशले नेताहरूलाई भने, ‘संविधानमाथि राजनीति नगर’

 भदौ ९, २०७८ बुधबार १६:१६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वप्रधानन्यायाधीशहरूले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरूलाई सचेत गराएका छन् । पूर्वप्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरूको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्तिसमेत जनाउनुभयो । 

नेपाल कानुन समाजले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरूलाई सचेत गराउनुभयो । उहाँले संविधानलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको आरोपसमेत लगाउनुभयो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘संविधानमाथि राजनीति भयो, संविधानलाई जुन ढङ्गले गम्भीरतापूर्वक लिने हो, त्यो लिएको जस्तो हामीलाई लाग्दैन, सत्ता कब्जा गर्ने दृष्टिकोण अहम् रह्यो, संविधानले कायम गरेका कुराहरूमा आबद्ध रहने क्रम अलि कम रह्यो ।’  

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिलेको राजनीति राजाको पालाको नमुना जस्तो भएको बताउनुभयो । उहाँले संविधानको गलत व्याख्या र प्रयोग गरेर राजाको नमुना जस्तो राजनीति दलहरूले गरिरहेको भन्दै असन्तुष्ट व्यक्त गर्नुभयो । अहिलेको राजनीतिमा सबै मै हुँ भन्ने अहङ्कार र आफ्नो दलको नेताहरूलाई समेत मिलाउन नसकेर दलमा कोलाहल पैदा भइरहेको उहाँकाे भनाइ छ ।  

पूर्वप्रधानन्यायाधीश कार्कीले भन्नुभयो, ‘राजनीति वा देशको शासन कुनै एउटा दलले चलाउँछ भने त्यो दलले एउटा नमुना, उदाहरण बनेर कसरी देशलाई सञ्चालन गरेर जाने ? कसरी राम्रो भन्दा राम्रो काम गर्दै लिएर जाने भन्ने हुन्छ, तर यहाँ त भताभुङ्ग, राजाको नमुना जस्तो भयो, आफ्नै दलभित्र पनि कोलाहल, दलका नेताहरूलाई मिलाउन नसक्ने, जे कुरा पनि आफैँ मै हुँ भन्ने खालको अहम् प्रवृत्ति देख्यौँ ।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अहिलेको सरकार सर्वोच्चको परमादेशबाट नआएको दाबी गर्नुभयो । उहाँले सांसदहरूले धारा ७६ (५) अनुसार आफ्नो अधिकारलाई प्रयोग गरेर हस्ताक्षर बुझाएपछि मात्रै सर्वोच्चले प्रधानमन्त्रीको नियुक्ति प्रारम्भ गरेको बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता खिमलाल भट्टराईले अहिलेको मुख्य समस्या भनेको संविधानको व्याख्या र प्रयोगमा भएको बताउनुभयो । उहाँले संविधानको धारा ७६ बनाउँदा कुन हिसाबले संविधान लेखिएको थियो त्यसको स्पष्टता आवश्यक रहेको बताउनुभयो ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले संविधानको नेतृत्व गर्ने दलहरू नै संविधान कमजोर पार्न लागिपरेको बताउनुभयो । उहाँले पहिला संविधानको विरोध गर्नेहरूले अहिले संविधानको रक्षा गरेको तर संविधानको नेतृत्व गर्नेहरू विरोधमा उत्रिरहेको बताउनुभयो ।  

कार्यक्रममा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईका साथै नेताहरू राधेश्याम अधिकारी, नवराज सिलवाल, धर्मशीला चापागाईं, रमेश पौडेल, विपिन अधिकारी, इन्दु तुलाधर, लक्ष्मी परियार, बहादुर सिंह लामा, धर्मराज ज्ञवाली र प्रकाश पन्त लगायतले लोकतन्त्रको स्थिति कमजोर रहेको र राजनीतिक दलका संस्थागत निर्णयभन्दा व्यक्तिगत स्वार्थपूर्तिका लागि संविधानको आफ्नै तरिकाले व्याख्या गरिरहेको धारणा व्यक्त गरेका थिए ।   

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया