एन्फा विवाद : ‘प्रशिक्षक अलमुताइरीले बानी सुधार गर्नुपर्छ’

 भदौ ९, २०७८ बुधबार १९:२५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानबिन समितिले आज बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ । 

१४ दिन लामो छानबिन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्णकेशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन् । 

समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल सङ्घ एसियाली फुटबल महासङ्घकाे नियमअनुसार चल्न नसकेको, आफ्नो समस्या आफैँ समाधान गर्नुपर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी व्यहोरामा सुधार गर्नुपर्ने सुझाव दिइएकाे छ ।

कार्यक्रममा प्रतिवेदन बुझेपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरेर एन्फालाई कार्यान्वयन गर्न निर्देशन दिने बताउनुभयो । उहाँले विवाद समाधान गर्न दुवै पक्षसँग छुट्टा–छुट्टै पहल भए पनि समाधान हुन नसकेको बताउनुभयो । छानबिन भइसकेको अवस्थामा परिषद्ले दिएको निर्देशन एन्फाले अक्षरशः पालना गर्नुपर्ने सदस्य सचिव सिलवालको भनाइ छ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणापछि एन्फा विवाद बाहिर आएको थियो । जसलाई समाधान गर्न एन्फाले तेस्रो पक्ष युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा लगाएको थियो ।

त्यहीअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राष्ट्रिय खेलकुद परिषद्लाई छानबिन समिति गठन गरेर एक हप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा बनेको छनोट समितिले १४ दिनमा आज प्रतिवेदन सार्वजनिक गरेको हो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया