काभ्रेमा पालिकाकाे ३३ करोड रुपैयाँ विद्युत् बक्यौता

 भदौ १५, २०७८ मंगलबार १८:५१:१० | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक – नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोकका दुई वितरण केन्द्रमा गरी ३३ करोड रुपैयाँ विद्युत् महसुल बक्यौता रहेको छ । चार नगरपालिका र एक गाउँपालिकाले सडक बत्ती तथा अन्य प्रयोजन गरी १८ करोड रुपैयाँभन्दा बढी विद्युत् महसुल चुक्ता गरेका छैनन् । 

बनेपा, धुलिखेल, पनौती र पाँचखाल नगरपालिका तथा भुम्लु गाउँपालिकाले यस परिमाणको महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणका काभ्रेपलाञ्चोकका वितरण केन्द्रहरूले जनाएका छन् । ती पालिकाले काभ्रे वितरण केन्द्र बनेपा र पाँचखाल वितरण केन्द्रबाट सडक बत्तीलगायत विद्युत् प्रयोग गर्दै आएका छन् ।

बनेपा वितरण केन्द्रअन्तर्गत बनेपा नगरले सडक बत्तीको पाँच करोड ९९ लाख ६६ हजार रुपैयाँ, धुलिखेल नगरको पाँच करोड ७७ लाख ७२ हजार रुपैयाँ र पनौती नगरले चार करोड ९८ लाख ३३ हजार रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । पाँचखाल वितरण केन्द्रअन्तर्गत पाँचखाल नगर र भुम्लु गाउँपालिकाको २७ लाख २१ हजार रुपैयाँ बक्यौता रहेको जनाइएको छ । 

बनेपा वितरण केन्द्रअन्तर्गत विद्युत् प्रयोगकर्ताबाट गएकाे असार मसान्तसम्ममा ३२ करोड ९९ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । केन्द्र प्रमुख इन्जिनियर माधवेन्द्र यादवका अनुसार ग्राहस्थतर्फ ११ करोड १७ लाख ४१ हजार रुपैयाँ, गैरव्यापारिक क्षेत्रबाट ६ लाख २३ हजार रुपैयाँ, व्यापारिक क्षेत्रबाट ५८ लाख ५९ हजार रुपैयाँ, औद्योगिकबाट दुई करोड ४१ लाख रुपैयाँ, खानेपानीबाट ११ लाख ३४ हजार रुपैयाँ, सिँचाइबाट चार लाख ८७ हजार रुपैयाँ बक्यौता छ । 

पालिकाअन्तर्गत सडक बत्तीको एकमुष्ट १८ करोड १० लाख २४ हजार रुपैयाँ, मेला–महोत्सवमा अस्थायी रूपमा विद्युत् प्रयोग गरेबापतको दुई लाख ५९ हजार, मठमन्दिरबाट पाँच लाख २४ हजार रुपैयाँ, सामुदायिक क्षेत्रबाट आठ लाख ७८ हजार रुपैयाँ बक्यौता बाँकी छ । गैर–ग्राहस्थ ३२ लाख २६ हजार रुपैयाँ, सिनेमा हलको ३४ हजार रुपैयाँ, आन्तरिक खपतबापतको २४ हजार रुपैयाँ बक्यौता रहेको यादवले जानकारी दिनुभयो । 

पाँचखाल वितरण केन्द्रअन्तर्गत भने सडक बत्ती, व्यापारिक, सामुदायिक, ग्राहस्थ, खानेपानी, औद्योगिक, सिँचाइ तथा गैरव्यापारिकलगायत क्षेत्रको तीन करोड ८४ लाख ९१ हजार रुपैयाँ महसुल तिर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया