प्रदेश २ मा एमालेका ११ सांसदले एकीकृत समाजवादी राेजे

 भदौ १७, २०७८ बिहिबार १८:१:४६ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी  – प्रदेश २ मा नेकपा एमालेका ११ सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । जनकपुरमा रहेकाे प्रदेश निर्वाचन कार्यालयमा आज बिहीवार दिउँसो १० जनाले भौतिक रूपमा र एक जनाले पत्रमार्फत सनाखत गरेका हुन् ।

प्रदेश सांसद सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले भाैतिक रूपमा एकीकृत समाजवादीकाे पक्षमा सनाखत गरेका छन् । क्यान्सर भएर उपचाररत डिल्ली उप्रेतीले भने पत्रमार्फत सनाखत गराएको प्रदेश सांसद सत्रुधन महतोले जानकारी दिनुभयाे ।
यस्तै एकीकृत समाजवादी पार्टीमा सनाखत गर्न सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ छुटेका छन् । उनीहरू विशेष कामले काठमाण्डाै रहेकाले दुई दिनभित्रै निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने प्रदेश सांसद महतोले बताउनुभयाे । 

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । एमाले प्रदेश २ संसदीय दलमा ओली पक्ष पहिलेदेखि नै कमजोर छन् । 

यसैबीच महोत्तरी प्रदेश नं. २ का प्रदेश सभा सांसद र पालिकाका जनप्रतिनिधिलाई आफ्नाे पक्षमा राख्नका लागि जनकपुरधाममा अहिले केन्द्रीयस्तरका नेता आउने क्रम जारी रहेकाे छ ।
जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले यही भदौ २२ गतेसम्मको समय तोकेपछि जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता अहिले जनकपुर केन्द्रित भएका छन् । दुवै दलका शीर्ष नेताले अहिले कार्यकर्ता प्रशिक्षणको कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।

जनकपुरधाममा केही दिनअघि जनता समाजवादी पार्टीका शीर्ष तहका नेताले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गरेका थिए । ती जनप्रतिनिधिलाई आफ्नाे पक्षमा केन्द्रित गर्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आज बिहीवार जनकपुर आएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरू बुधवारदेखि नै जनकपुरमा रहेका छन् । बुधवार प्रदेश २ प्रदेश सभाका जनता समाजवादी पार्टीका १० सांसदले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका थिए भने बिहीवार थप एक सांसदले लाेकतान्त्रिक समाजवादी पार्टीकाे पक्षमा प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।

२२ गतेसम्म थप सांसद लोकतान्त्रिक समाजवादी पार्टीमा लाग्न सक्ने सङ्केत देखिएपछि अध्यक्ष उपेन्द्र यादव आफैँ जनकपुर आइपुग्नुभएकाे हाे । प्रदेश सभामा जनता समाजवादी पार्टीका ५५ सांसद रहेकामा अब त्याे सङ्ख्या ४४ मा झरेको छ । अझै केही सांसद लोकतान्त्रिक समाजवादी पार्टीमा जाने सम्भावना देखिएको छ ।

बिहीवार तत्कालीन सङ्घीय समाजवादी पार्टीको उम्मेदवार बन्दै पर्सा निर्वाचन क्षेत्र नम्बर ३(ख) बाट निर्वाचित प्रह्लाद गिरीले लोकतान्त्रिक समाजवादी पार्टी रोज्नुभएकाे हाे । प्रदेश सभामा जसपाका ५५ मध्ये तत्कालीन सङ्घीय समाजवादीका ३० र तत्कालीन राजपाबाट २५ सांसद रहेका थिए । तत्कालीन राजपाबाट निर्वाचित भए पनि धेरैजसो सांसद जसपामै रहेर ठाकुरको साथ छाडेका छन् । त्यसैले पनि ठाकुरसहितको शीर्ष नेताको टोली जनकपुरमा बसेर सांसदलाई आफूतिर तान्ने कसरतमा लागिरहेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया