टेस्टमा ४ सय १३ विकेट तर खेल्न पाएनन्

 भदौ १८, २०७८ शुक्रबार १६:५४:५८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ‘यो ठिक होइन’, ‘मलाई विश्वास नै भइरहेको छैन’, ‘निकै आश्चर्यजनक निर्णय हो’,  भारत र रविचन्द्रन अश्विनमाथि यो के भइरहेको छ ?

यो प्रतिक्रिया विश्वका पूर्व क्रिकेटरहरूको हो । उनीहरूको यस्तो प्रतिक्रियाको कारण पनि छ । 

टेस्ट वरीयतामा दोस्रो नम्बरमा रहेका भारतका अहिलेसम्मका चौथो सबैभन्दा सफल बलर अफ स्पिनर रविचन्द्रन अश्विन इङ्ल्यान्डसँगको चौथो टेस्टमा फेरि पनि अन्तिम ११ खेलाडीमा राखिएन । 

३४ वर्षीय अश्विनले अहिलेसम्म टेस्टमा चार सय १३ विकेट लिएका छन् । इतिहासमा उनीभन्दा धेरै टेस्ट विकेट मात्र १४ खेलाडीले लिएका छन् । यति हुँदा पनि इङ्ल्यान्ड भ्रमणको चार टेस्टमध्ये एकमा पनि उनले खेल्ने मौका पाएनन् । 

यी ती व्यक्ति हुन् जसले ६ महिनाअघि भारतमा इङ्ल्यान्डलाई तीन–एकले हराउन महत्त्वपूर्ण योगदान दिएका थिए । त्यस क्रममा शृङ्खलामा उनले १४ दशमलव ७१ को औसतमा ३२ विकेट लिएका थिए । 

पूर्व क्रिकेटरहरूको प्रतिक्रिया

बीबीसी टेस्ट म्याच स्पेसलमा इङ्ल्यान्डका पूर्व कप्तान माइकल वनले सामाजिक सञ्जाल ट्विटरमा अश्विनलाई नखेलाउने निर्णयलाई लिएर ‘म चकित परेको छु’ लेखेका छन् । 
‘टेस्टमा चार सय १३ विकेट लिँदै पाँच शतक बनाएका खेलाडीलाई नराख्नु यो पागलपन हो’

यसबारेमा इङ्ल्यान्डका पूर्व स्पिनर फिल टफनेलले लेखेका छन्, ‘मलाई यसमा विश्वास नै भएको छैन । तपाईँ विश्वको दोस्रो नम्बरमा रहेको बलरलाई चार टेस्टमा हाफ प्यान्ट र एक कप चिया दिएर कसरी बसाउन सक्नुहुन्छ ? उनी जुनसुकै परिस्थितिमा, कुनै पनि टेस्टमा सहभागी हुन सक्छन् ।’

भारतका पूर्व विकेटकीपर दीप दासगुप्ताले भनेका छन्, ‘ओभल मैदानमा स्पिनरलाई मद्दत पुग्छ । यसमा कुनै पनि प्रकारले रविचन्द्रन अश्विनलाई खेलाउनुपर्ने थियो ।’

यस्तै विश्भरका क्रिकेटरको अश्विनलाई नखेलाइएको बारे तिखो आलोचना गरेका छन् । 

भारतसँग बलर निकै धेरै छन् र अश्विन ब्याटिङ गर्न सक्दैनन् भनेर अश्विनलाई बाहिर राखिएको हो ?

तर यसबारेमा फेरि पनि सोच्नुपर्ने हुन्छ । अश्विनको नाममा टेस्टमा पाँच शतक छ । यसमध्ये एक शतक त या वर्षको सुरुमा उनले इङ्ल्यान्डसँगको खेलमा प्रहार गरेका थिए । खासमा, इङ्ल्यान्डका मात्र दुई खेलाडी जो रुट र जोनी बेयरस्टोले मात्र अश्विन भन्दा धेरै रन बनाएका छन् । 

यो पनि सत्य हो कि अश्विन इङ्ल्यान्डमा भन्दा भारतमा निकै प्रभावकारी देखिन्छन् । उनले यस वर्षको जुन महिनामा साउथ्याम्पटनमा न्युजिल्यान्डसँगको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा ४५ रन दिएर चार विकेट लिएका थिए । सन् २०१६ यता एसियाबाहिर २८ दशमलव ०८ उनको औसत विश्वका स्पिनरमध्ये सबैभन्दा राम्रो छ । 

गएको महिना समरसेटसँगको खेलमा ओभलमा खेलिएको काउन्टी म्याचमा अश्विनले सरेका लागि २७ रन दिएर ६ विकेट लिएका थिए । यो अवस्थामा उनलाई टिमबाहिर राखिनु निकै आश्चर्यजनक लाग्छ । 

केही वर्षअघि यस मैदानमा धेरै स्पिनरले उत्कृष्ट प्रदर्शन गरेका थिए । कुरा चाहे सन् १९९८ मा श्रीलङ्काका मुथैया मुरलीधरनले ६५ रन दिएर नौ विकेट लिएको होस् या सन् १९९७ मा फिल टफनेलको उत्कृष्ट प्रदर्शनको मद्दतमा अस्ट्रेलिया एक सय चार नमा अलआउट भएर इङ्ल्यान्ड विजयी भएको खेल होस् । 

अहिलेको इतिहासले पनि सुस्त गतिमा बलिङ गर्ने खेलाडी यस पिचको फाइदा उठाउने देखाउँछ ।   

टीएमएसका तथ्याङ्क विशेषज्ञ एनडी जाल्जम्यान भन्छन्, ‘सन् २०१५ पछि ओभलमा खेलिएको पाँच टेस्टमा, तीव्र गतिका बलरले ३१ दशमलव ०७ को औसतमा एक सय २३ विकेट लिएका छन् । तीव्र गतिका बलरको स्ट्राइक रेट हरेक ६० बलमा एक विकेट रहेको छ । तर स्पिनरले मात्र २९ दशमलव ०१ को औसत र ५१ को स्ट्राइक रेटमा यहाँ ५० विकेट लिएका छन् ।’ 

माइकल वान भन्छन्, ‘यी अनुभव र समझदार खेलाडीलाई कुनै टिमले पाँच खेलको शृङ्खलामा चार खेलमा टिममा समावेश गर्न सक्दैन भने आपसी सम्बन्धमा केही समस्या रहेको हुन सक्छ ।’

‘कप्तान र रविचन्द्रन अश्विन एकअर्कासँग आँखा मिलाउन नसकेका पनि हुन सक्ट । बाँकी त मात्र बहाना हो ।’  

अस्ट्रेलियाली क्रिकेटर टम मूडी लेख्छन्, ‘भारतको अन्तिम ११ मा आर अश्विनलाई नदेख्दा हैरानी भएको छ । टिममा तीन तीव्र गतिका बलर र दुई स्पिनरलाई खेलाउनुपर्छ भन्ने म मान्छु ।’

अश्विनलाई नखेलाइएकोमा इङ्ल्यान्डका समर्थक पनि अचम्मित छन् । ह्याशट्याग मा इङ्ल्यान्डका धेरै समर्थकले आफ्नो प्रतिक्रिया दिएका छन् । 

यसबारेमा फिल इन चेस्टरले लेखेका छन्, ‘के पोर्चुगलले कहिल्यै क्रिस्टियानो रोनाल्डोलाई बाहिर राख्न सक्छ ? तर भारत अश्विनलाई किन बाहिर राख्छ ?’ 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया