अर्जेन्टिना र ब्राजिलबीचको फिफा विश्वकप-२०२२ को छनोट खेल नाटकीय ढङ्गले रद्द

 भदौ २१, २०७८ सोमबार ७:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्जेन्टिना र ब्राजिलबीचको फिफा विश्वकप सन् २०२२ को छनोट खेल रद्द भएको छ । ब्राजिलमा सुरु भएको खेल केही मिनेटमै रद्द भएको हो ।

खेल सुरु भएको केहीबेरमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधिले अर्जेन्टिनाका खेलाडीले क्वरेण्टीनको नियम तोडेको भन्दै मैदानभित्र प्रवेश गरेका थिए ।

स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनाका खेलाडीलाई रोक्न खोजे पछि रेफ्रीले खेल रोकेका थिए । अर्जेन्टिनाको टोलीमा इङ्ग्लिस प्रिमियर लिग खेल्ने चार खेलाडी रहेको र ब्राजिल प्रवेश गर्न बेलायतबाट आउने जोकोहीले १४ दिन क्वरेण्टीन बस्नुपर्ने नियम छ । तर, अर्जेन्टिनाका ती खेलाडीले नियम तोडेकाले डिपोर्ट (देश निकाला) गर्नुपर्ने बताएको थियो ।

नियमअनुसार यी चार खेलाडीले देश छोड्नुपर्ने वा १४ दिन क्वरेण्टीन बस्नुपर्ने प्रावधान छ । अर्जेन्टिनाले मैदान छाडेको एक घण्टासम्म पनि ब्राजिलका खेलाडीले खेल सुरु हुने आशमा मैदान छाडेका थिएनन् । तर खेल सुरु हुन नसक्ने भएपछि रेफ्रीले खेल रद्द भएको घोषणा गरे ।

अब रेफ्रीले आफ्नो अधिकारिक रिपोर्टमा लेखेको विवरणका आधारमा फिफाको अनुशासन समितिले यो खेलबारे निर्णय गर्ने बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया