माधव नेपालले दश बुँदे सहमति नमानेर पार्टी फुटाए : पृथ्वीसुब्बा गुरुङ

 भदौ २५, २०७८ शुक्रबार २०:१८:५८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – नेकपा एमालेका सचिव एवम् स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले माधव नेपालले दश बुँदे सहमति नमानेर एमाले फुटाएको आरोप लगाउनुभएको छ । एमाले म्याग्दीले आज शुक्रवार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दश बुँदे सहमतिको कार्यान्वयन गर्नुको सट्टा माधव नेपालले पार्टी फुटाएको बताउनुभएको हो । 

सचिव गुरुङले दुई जना नेतासँग सरसल्लाह गरेर दश बुँदे सहमति पत्र तयार पारेको बताउँदै पार्टीमा यसलाई कार्यान्वयन गर्नका लागि केपी ओली र माधव नेपाललाई बुझाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओलीले दश बुँदेको अनुमोदन गर्नुभयो, समर्थन गर्नुभयो र त्यसलाई कार्यान्वयन गर्ने भन्नुभयो । तर माधव नेपालले यसमा मेरो असहमति छ, म यो स्वीकार्न सक्तिन भनेको बताउनुभयो । माग गर्दै जाने अनि निहुँ झिक्दै जाने, एकपछि अर्को निहुँ झिक्दै जाने, निहुँ झिक्दै जाने, उहाँको उद्देश्य के रहेछ भने पार्टी छोडेरै जाने रहेछ । 

नेताहरूलाई मिलाउनका लागि अब महाधिवेशनसम्म माधव नेपालजीलाई अर्को अध्यक्ष दिएरै भए पनि पार्टीको एकता जोगाऔँ भनेर आफूले प्रस्ताव गरेको सचिव गुरुङले बताउनुभयो ।

उहाँले लामो छलफलबाट केपी ओलीले यो प्रस्ताव स्वीकारेपछि विष्णु पौडेल र सुवास नेम्वाङ प्रस्ताव लिएर माधव नेपालकहाँ गएको बताउँदै भन्नुभयो, ‘तर माधव नेपालले कहाँ म जान्छु, पदलोलुप हुन्छ, म पदलोलुप व्यक्ति होइन, विधि र प्रक्रियामा विश्वास गर्ने व्यक्ति हो । जे एन झलनाथजीलाई बनाउनुहोस् भन्नुभयो ।’    

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहनुभएका एमाले सचिव गुरुङले एमालेको अर्को अध्यक्ष बनाउँदा, जेठ २ गते फर्कँदा र कारबाही सबै फिर्ता लिँदा पनि नभएपछि माधव नेपालले प्रचण्डसँग कस्तो सम्झौता गर्नुभएको रहेछ ? भनेर प्रश्न गर्नुभयो । उहाँले माओवादीका एक नेताले आफूलाई केपी ओलीसँग माधव नेपालसँगै पार्टीमा बस्दैनन् भनेको बताउँदै माधवले प्रचण्डसँग एमाले फुटाउनका लागि सम्झौता गरेको दाबी गर्नुभयो । तर उहाँले माओवादीका कुन नेताले त्यसो भनेको भनेर नाम भने सार्वजनिक गर्नुभएन । 

फुटेर गएको पार्टीले संसारमा कहीँ पनि चुनाव जितेको र सरकारको नेतृत्व गरेको उदाहरण नभएको बताउँदै एमाले सचिव गुरुङले माधव नेपाल समूहसँग कुनै तर्क पनि नभएको र पार्टी पनि चल्न नसक्ने बताउनुभयो ।    

त्यही भेलालाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले माधव नेपाल समूहले बनाएको एकीकृत समाजवादी पार्टी दक्षिणपन्थी अवसरवाद भएको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसले भन्दै र गर्दै आएको बुर्जुवा समाजवादी कार्यक्रम र माधव नेपाल समूहको एकीकृत समाजवादीले अँगालेको समाजवादी कार्यक्रममा कुनै अन्तर नभएको बताउँदै माधव समूहको समाजवाद वैज्ञानिक समाजवाद हो कि कांग्रेसको बुर्जुवा समाजवाद हो ? भनेर प्रश्नसमेत गर्नुभयो ।    

अन्तिम अपडेट: बैशाख ९, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया