भक्तपुर अस्पताल विवाद : ‘साझाले न भाडा तिर्छ, न ठाउँ छाड्छ’

 भदौ २८, २०७८ सोमबार १५:५६:१५ | रासस
unn.prixa.net

फाइल फाेटाे

भक्तपुर – भक्तपुर अस्पतालको गेटैमा पूर्वतर्फ आकस्मिक कक्ष, पश्चिमतर्फ साझा औषधि बिक्री कक्ष र अलिक पर कोरोना सङ्क्रमित बिरामीको सघन उपचार कक्ष छ । एउटा साँघुरो सानो टहरामा भक्तपुर अस्पतालको औषधि बिक्री कक्ष छ । 

आफ्नै औषधि बिक्री कक्ष राख्न सहज ठाउँ नपाएको अस्पताललाई साझाले भने वर्षौदेखि भाडासमेत तिरेको छैन । साझालाई अस्पताल प्रशासनले हटेर जान भन्दा राजनीतिक दबाबदेखि सरुवासमेतको धम्की दिने गरेको अस्पताल प्रशासनको गुनासो छ । 

विगतका मेडिकल सुपरिन्टेन्डेन्टले गरेको कमजोरीका कारण यतिखेर अस्पतालले निकै दुःख पाउनुपरेको गुनासो अस्पताल प्रशासनको छ । वर्षौदेखि बस्दै आएको साझाले अस्पताललाई धेरै वर्षदेखि भाडा तिरेको रेकर्ड नभएको प्रशासनको भनाइ छ । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल अस्पतालले आफ्नो फार्मेसी राख्ने ठाउँ नपाएर सानो जस्ताको टहरामा राख्नुपरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘वर्षाैँदेखि साझाले अस्पताल परिसरमा औषधि बिक्री कक्ष राख्दै आएको छ, छोड भन्दा छोड्दैन, ऊ व्यापार गर्छ, हामी बीमाको निःशुल्क औषधि दिन्छौ, ठाउँ चाहियो भन्दा टेर्दैन ।’

अस्पतालको औषधि बिक्री कक्षमा बीमाका बिरामीको लामो लाइन हुने गरेको उहाँले जानकारी दिनुभयो । दैनिक दुई सयदेखि दुई सय ५० बीमाकै बिरामी आउने गरेका बताइएको छ । साँघुरो भएकाले लाइन बस्ने ठाउँ पनि पाउँदैनन्, बीमाबाहेकका कतिपय बिरामी बाहिर महँगोमा औषधि खरिद गर्न बाध्य छन्, साझाले छाडे त्यहीँ ठाउँमा अस्पतालले औषधि बिक्री कक्ष राख्न सक्थ्यो, तर छाड्दैन, उल्टै छाड्दैनाैँ के गर्छाै भनेर धम्क्याउँछन्', अस्पताल प्रशासनको गुनासो छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले साझाले अस्पतालको ठाउँ नछाड्दा निकै समस्या परेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘चार वर्ष अगाडि एक वर्षका लागि सम्झौता गरिएको रहेछ, म अस्पतालमा आउनु अघिदेखि नै सम्झौता नगरि नियम विपरीत बस्दै आएको छ, अस्पतालले औषधिमा १० प्रतिशत छुट दिइरहेको छ, प्रमुख जिल्ला अधिकारीसँग बसेर भएको छलफलमा साझालाई अस्पताल छाड्न निर्देशन दिइएको पनि हो, तर अटेर गरेको छ, अस्पताललाई निकै समस्या परिसक्यो ।’

साझाका प्रबन्ध सञ्चालक भरत कोइरालाले अस्पतालको अनुमगन गरेर यहाँको समस्या देखेर र बुझेर जाँदा पनि साझाले कुनै हालतमा अस्पतालभित्रको ठाउँ नछाड्ने अडान राखेको बताउनुभयो । केही वर्ष अगाडिसम्म स्लिपको भरमा साझाबाट औषधि लैजाने गरेको पाइएको छ । 

अस्पतालको रेकर्डमा विसं २०७४ देखि नै साझाले भाडा नदिएको प्रशासनको भनाइ छ । अस्पतालका मेसु डा. गौतमले भन्नुभयो, ‘म आउँदा यहाँ धेरै बेथिति थिए, अस्पताल व्यवस्थापन समिति र प्रशासन मिलेर त्यस्ता बेथितिलाई हटाउँदै लगेका छौँ, साझाले गर्दा हामीलाई समस्या भयो, ठाउँ छोडिदेउ भन्दा पनि छोड्दैन, यो कस्तो जबरजस्ती हो ?, पहिलादेखि नै अस्पताललाई चारैतिरबाट पेल्दै आउने प्रवृत्तिले दुःख पाउँदै आएको रहेछ ।’

अस्पतालको लेखा शाखाका अनुसार साझाले २९ लाख रुपैयाँ भाडा तिर्न बाँकी छ । उल्टै साझाले २४ लाख रुपैयाँको बिल पठाएको बताइएको छ । साझाले अस्पतालका कर्मचारी र अस्पतालले लगेको औषधि भनेर बिल पठाएको छ । अस्पतालले भनेको छ, ‘कहिले कुन औषधि मागेको हो, कस–कसले कुन औषधि कहिले लगेको हो, त्यसको कुनै बिल र प्रमाण छैन, अनावश्यक बिल बनाएर आएको बिलको कसरी भुक्तानी गर्नु ?, साझाले आर्थिक क्षेत्रमा समेत अस्पताललाई समस्या पारेको छ ।’ 

हरेक आर्थिक वर्षको अन्त्यमा त्यस्ता हिसाब फर्छ्याेट गर्नुपर्ने नियम भए पनि साझाले वर्षाैँ अगाडिदेखिको बिल भनेर २४ लाख रुपैयाँको बिल ल्याएको र बाँकी रकमको जबरजस्ती चेक छाडेर गएको गुनासो लेखा शाखाको छ । साझाले अस्पतालका चिकित्सकलाई औषधि सिफारिसका लागि प्रलोभन र दबाब दिने गरेको तथा केही कर्मचारीलाई प्रलोभन दिने गरेको अस्पतालका कर्मचारीकै भनाइ छ । 

एउटै कम्पाउन्डमा फरक–फरक औषधि पसल हुँदा बिरामी ठगिने र अलमलमा पर्ने गरेको बिरामीका आफन्त बताउँछन् । साझाका प्रबन्ध सञ्चालक कोइराला भने अस्पतालले भाडा लिनै नमानेको जिकिर गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘हामीले भाडा दिन खोजेका छौँ, अस्पतालले लिन मानेको छैन, साझा पनि सरकारी स्वामित्वमै रहेको संस्था हो, अस्पतालको औषधि बिक्री कक्षले मात्रै धान्दैन, त्यसैले साझा चाहिएको हो, कतिपय शल्यक्रियाका औषधि साझाले मात्रै बिक्री गर्न पाउँछ, त्यस्ता औषधिका लागि पनि साझा चाहिन्छ ।’ 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया