राष्ट्रिय महिला फुटबल टाेलीकाे बिदाइ

 भदौ २८, २०७८ सोमबार १९:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२२ छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज साेमवार बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फ) ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई बिदाइ गरेको हो । टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदै छ ।

छनोट खेल्न जानुअघि नेपालले त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा बङ्गलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो । त्यही खेलमा भएका कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताइन् । 

छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टाेलीकाे घोषणा गर्दा डिफेन्डर पुनम जर्घा मगरले भने उज्वेकिस्तानको भ्रमण गुमाउने छिन् । मुटुको समस्या देखिएपछि पुनम टोलीबाहिर रहेकी हुन् । मैत्रीपूर्ण खेलले महिला टोलीलाई आपसमा बुझ्नलाई सहयोग मिलेको, छनोट खेल नेपालका लागि ठूलो मौका भएकाे फिलिप्सले बताए । कुनै पनि खेलाडीमा चोट नभएकाले प्रदर्शन राम्रो गर्ने अपेक्षा रहेकाे फिलिप्सले थपे ।  

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपालसँगै हङकङ र फिलिपिन्स रहेका छन् । नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालको दोस्रो खेल असोज ५ गते हङकङसँग हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया