स्वास्थ्य मापदण्ड पालना गरी खुल्न थाले काठमाण्डाैका सङ्ग्रहालय

 भदौ २९, २०७८ मंगलबार १४:५१:४४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढेसँगै गएकाे वैशाखदेखि बन्द रहेका काठमाण्डाैका सङ्ग्रहालय खुल्न थालेका छन् । 

काठमाण्डाैका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीमा रहेकाे राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय र हनुमानढोका दरबार सङ्ग्रहालय स्वास्थ्य मापदण्ड पालना गरी खुला गरिएको हो । सङ्ग्रहालय खुला गरेसँगै अवलोकनकर्ताको भिड लागेको छ । 

नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक हप्तामा ६ दिन खुला हुन्छ । बुधवार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ । मङ्गलवार भने आधा दिन खुला गरिने गरेको सङ्ग्रहालयका प्रमुख कार्यकारी अधिकृत भेषनारायण दाहालले जानकारी दिनुभयो । 

हनुमानढोका दरबार हप्तामा सातै दिन सार्वजनिक बिदाका दिन पनि खुला हुने गरेको छ । दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी भइरहेकाे छ । दरबार क्षेत्रभित्रका नासल चोक, लोह चोक, पुतली बगैँचा अवलोकनका लागि खुला गरिएको छ । 

हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढ वर्षदेखि काठमाण्डाै महानगरपालिकाले सङ्ग्रहालयलाई दिएको छैन । महानगरसँग सम्झौता भएअनुसार तीन करोड ५० लाख रुपैयाँभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । महानगरले पैसा नदिएपछि सङ्ग्रहालयले पनि टिकट काट्न सुरु गरेको छ । 

सङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले तीन सय रुपैयाँ र नेपालीले ३० रुपैयाँको टिकट काट्नुपर्छ । महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको एक हजार रुपैयाँ शुल्क विदेशीसँग लिने गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया