बझाङ : लाखौँ लगानीमा बनेकाे डोब्रा सामुदायिक अस्पतालका उपकरण कबाडीमा परिणत हुँदै

 भदौ ३१, २०७८ बिहिबार १०:४९:२६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङको छबिसपाथिभेरा गाउँपालिकामा रहेकाे डोब्रा सामुदायिक अस्पताल कर्मचारी अभावमा बन्द भएपछि लाखाैँ मूल्यका सं‍रचना र उपकरणहरु कबाडीमा परिणत भएका छन् । 

२०६६ सालमा जापानी राजदूतावासको ६१ लाख ५० हजार रुपैयाँमा तत्कालीन व्यासी गाउँ विकास समितिको ७० हजार र मटेला गाउँ विकास समितिको ३ लाख  र स्थानीयको ५० लाखभन्दा बढी जन श्रमदानबाट जिवलीमा निर्माण भएकाे अस्पताल ५ वर्षयतादेखि बन्द छ । काम गर्ने कर्मचारी नभएपछि अस्पताल बन्द भएको हो ।

अस्पताल बन्द भएपछि छबिस पाथिभेरा गाउँपालिकाका तत्कालीन ८ गाविसका बासिन्दालाई सामान्य स्वास्थ्य उपचारका लागि हजारौँ खर्च गरेर सदरमुकाम धाउनु पर्ने बाध्यता रहेकाे छ। अस्पतालमा लाखौँ मूल्य पर्ने एक्सरे मेसिन, जेनेरेटर, बेड, टेबुल, कुर्ची, उपचारका औजारहरु खिया लागेर कतिपय काम नलाग्ने अवस्थामा पुगेका छन्। 

अस्पताल सञ्चालनमा आएपछि राष्ट्रिय योजना आयोगले हेल्थ असिस्टेन्ट तीन जना,  अनमी एक जना  र दुई जना अहेब पदका कर्मचारी खटाए पनि उनीहरुको अवधि सकिए पछि अरु कर्मचारी नहुँदा अस्पताल यस्ताे अवस्थामा पुगेकाे हाे ।

स्थानीयहरुको व्यवस्थापन समितिमार्फत सञ्चालन गर्ने गरी निर्माण भएको जिल्लाकै दोस्रो सुविधायुक्त यस अस्पताललाई सञ्चालनका लागि कतैबाट पहल हुन नसकेकाे अस्पताल व्यवस्थापन समितिका सदस्य खड्क रावल बताउनुहुन्छ।

पालिका, जिल्ला, प्रदेश र केन्द्रस्तरमा अस्पताल सञ्चालनका लागि पटक-पटक पहल गरे पनि कतैबाट सुनुवाइ नभएकाे उहाँले बताउनु भयाे । 

'अस्पतालमा कर्मचारी छैनन्। अस्पताल वरपर घेरबार पनि छैन। जङ्गल छेउमा भएको हुँदा पशु चौपायाको चरन स्थल र केटाकेटीको खेल्ने ठाउँ भएको छ' व्यासकी रिमा थापाले भन्नुभयाे​।

अस्पतालका झ्याल ढोकाहरु तोडफोड भएका छन् । कोठाभित्रका फर्निचर र उपकरणहरु धुलाम्मे छन् । झट्ट हेर्दा अस्पताल कबाडी भण्डार जस्तो देखिन्छ । भाडेबगर जयपृथ्वी नगर सडक खन्दा डोजरले अस्पतालको आँगनको डिल ताछे पछि अस्पतालका ४ वटामध्ये एउटा भवन भत्किनै लागेको छ भने दुई वटा अरु भवन पनि जोखिममा छन् । 

अस्पताल सञ्चालनका लागि सहयोग गरिदिन विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न कार्यालयसमक्ष अनुरोध गर्दागदै आफूहरु हैरान भएकाे स्थानीय कृष्णबहादुर रावलले बताउनु भयाे ।

उहाँ भन्नुहुन्छ ‘गाउँपालिकाले बजेट विनियोजन गरेर अस्पताललाई सञ्चालनमा ल्याउला भन्ने आशा थियाे । तर यसप्रति स्थानीय सरकारले चासो दिएन । उल्टै भएका सबै उपकरण गाउँपालिकाले आफनो मातहतमा लिन खोजेपछि स्थानीयले विरोध गरेर भएका उपकरणहरु त्यत्तिकै थन्किएका  हुन्।’ व्यवस्थापन समितिको कमजोरीका कारण अस्पताल बन्द हुन पुगेको स्थानीयहरुको आरोप छ ।  

२०७४ सालमा बन्द भएको यस अस्पतालका सबै झ्याल ढोकालगायत भित्र भएका टेबुल कुर्ची समेत तोडफोड भएको स्थानीय तथा समाजसेवी खडक रावलले बताउनु भयाे ।

उहाँले भन्नुभयो ‘स्थानीय सरकार सञ्चालनमा आएपछि यहाँका स्थानीय बासिन्दा र कार्य समितिबाट समेत सयौँ पटक अस्पताल सञ्चालनका लागि भन्दै बजेट विनियोजनको माग राख्याैँ । न त वडा बाट मागकाे सम्बोधन भयो । न त गाउँपालिका बाट नै । कतैबाट सुनुवाइ नभएपछि आफूहरु नै अस्पताल सञ्चालनका लागि लागि परेका छौँ।’

अस्पताल व्यवस्थापन समितिका सचिव धनबहादुर रावलले गाउँपालिकाले अस्पताल सञ्चालनका लागि बजेट विनियोजन गर्न नसक्नु दु:खको कुरा भएको बताउनु भयाे । उहाँले आफूहरु प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुरोध गरेपछि अस्पताल सञ्चालनका लागि समितिका पदाधिकारी लागि परेका र अस्पताल मर्मतको काम समेत सुरु भएकाे बताउनु भयाे । उहाँले दशैँ तिहारभित्र नै अस्पताल पुन: सञ्चालनमा ल्याउने कोशिस गरिरहेकाे बताउनु भयाे । 

छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले गाउँपालिकाको बजेटले अस्पताल सञ्चालन गर्न सम्भव नभएको बताउनु भयाे । उहाँले अस्पतालमा भएका उपकरणहरु गाउँपालिका नजिकै सबैको पायक पर्ने ठाउँमा लिएर सञ्चालन गर्न खोज्दा स्थानीयले नमानेका कारण उपकरणहरु त्यत्तिकै थन्कीएको र अस्पताल पनि सञ्चालनमा नआएको प्रतिक्रिया दिनुभयाे। 

अस्पताल सञ्चालन गर्ने उद्देश्यले अस्पताल व्यवस्थापन समितिका पदाधिकारी अहिले लागि परेका छन् । अस्पताल सञ्चालन गर्न लागि परेको जानकारी पाएपछि गाउँ नजिकै स्वास्थ्य सेवा लिन पाउने आशामा यहाँका स्थानीय बासिन्दा खुसी भएका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया