नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो

 भदौ ३१, २०७८ बिहिबार १७:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघेको छ । गएको २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टामा एक हजार पाँच सय ११ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार एक सय ७९ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ९ दशमलव ९५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७० हजार एक सय ७६ पुगेको छ ।

यही अवधिमा एक हजार ६ सय ८९ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या सात लाख ४५ हजार दुई सय १५ पुगेको छ ।

अहिले नेपालमा २५ हजार सात सय ७२ जना सक्रिय सङ्क्रमित रहेकामा चार सय सात जनाको आईसीयू र एक सय २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया