‘यो दसैँमा म घर आइँन, सम्झनालाई पठाउन केही पाइँन’

 भदौ ३१, २०७८ बिहिबार १७:१९:४० | मेरो कथा मेरो भोगाई
unn.prixa.net

रमेश क्षेत्री/सिसेल्स ।

यसपालि दसैँको बारेमा हरेकको आफ्नै खालको सम्झना हुन्छ । तर परदेशीलाई त दसैँ नजिकिँदै गर्दा त्यही सम्झनाले असाध्यै सताउँछ । घरको सम्झना आउँछ । दसैँको टीका र जमरा सम्झँदा मन रमाउँछ । अनि फेरि जान नपाउने कुरा सम्झँदा दुःख लाग्छ । 

भदौ सकिएर असोज लाग्दै छ । बिहानी घामको झुल्कोले पनि अहिले त दसैँको झल्को दिन्छ । दसैँ आउनै लाग्दा कस्तो रापिलो, कस्तो मनै फुरुङ्ग हुने घाम लाग्छ । गाउँघरमा त अझ माहौल नै फरक हुन्छ । 

देश विदेशमा रहेका आफ्ना आफन्तहरू आउने खबर आउँछ । उनीहरूको स्वागतका लागि बाटो चिटिक्क पारिन्छ । सफा गरिन्छ ।  रातो माटो र सेतो कमेरोले घर पोतिन्छ । पिङ हाल्न डोरी बाटिन्छ । नयाँ लुगा सिलाउन दिइन्छ । आहा सम्झँदा पनि कस्तो मन फुरुङ हुन्छ ।

त्यही क्षणहरू आज पैसा कमाउन परदेशिएको म परदेशीले सम्झँदा मनमा पिर पर्छ । घर छाडेर परदेश लागेको पनि एक दशक भयो । सायद यो निधारमा दसैँको टीका नपरेको पनि एक दशक नै भयो । 

सम्झना त त्यो बेलाको आउँछ जति बेला दिदी बहिनी घर सिँगार्नु लाग्दा हामी हिमालबाट झारिएका च्याङ्‍ग्रा लिन जान्थ्यौँ । च्याङ्‍ग्रा लिन जानेको पनि लाइन नै हुन्थ्यो । कति रमाइलो हुन्थ्यो । 

अहिले त परदेशमा छु । आफूलाई न दसैँ न तिहार । मनमा सम्झनाको भेल छ । तर यहाँ त्यही सम्झनामा डुबेको परदेशीको बेहाल छ । 

यो कोरोनाले दसैँ तिहार सबै कुरा सम्झनामा मात्र सीमित बनाइदियो । महामारी सुरु भएदेखि घर आउने रहर पनि मन मनै मार्न परेको छ । यात्रा गर्न  सजिलो छैन । अनेक झन्झट गर्न पर्छ । 

हुन त गाउँ घरमा पनि हामी परदेशी नजाँदा चाडबाड पहिलेजस्तो हुन्न होला । तर पनि घरहरूले रूप फेर्नेछन् । बाटो पनि सिँगारिने छन् । अहिले त प्रविधिले अलिक सजिलो पनि बनाएको छ । भेट नभए पनि भिडियोमा सबै कुरा देख्न पाइन्छ । त्यही खुसी लाग्छ । 

मन त घर जाने छ नि । तर के गर्नु परिस्थिति त्यस्तै छ । त्यसैले हामी जहाँ छौँ सुरक्षित हिसाबले चाडबाड बनाउन आवश्यक छ । ज्यान रहे भेट त अर्को साल होला नि भनेर मन बुझाउँदै छु परदेशमा । 

गाउँदै छु यही गीत, 

‘यो दसैँमा म घर आइँन, सम्झनालाई पठाउन केही पाइँन

रुमालै छ चिनो, गाउँघरको मायालाई सोध्या छ भन्दिनु ।’

अन्तिम अपडेट: असोज २१, २०७८

तपाईको प्रतिक्रिया