दश बुँदे सुझावलाई रचनात्मक ढङ्गले लागू गरिनेछ : महासचिव पाेखरेल

 भदौ ३१, २०७८ बिहिबार १९:४५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दश बुँदे सुझावलाई रचनात्मक ढङ्गले लागू गर्ने बताउनुभएको छ । आज बिहीवार काठमाण्डाै जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीको एकतालाई बलियाे बनाउनका लागि तयार पारिएको दश बुँदे सुझावलाई पार्टीले सिर्जनात्मक र रचनात्मक ढङ्गले लागू गर्ने बताउनुभयो ।

दश बुँदे कार्यान्वयनबाट पार्टी पछि नहट्ने उहाँले बताउनुभयो । आजको आवश्यकता एकतापछि बनेको एमालेकै रहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीभित्रको एकतालाई बलियाे बनाउने उद्देश्यका साथ तयार पारिएको दश बुँदे सुझावलाई पार्टी केन्द्रले यिनै मान्यताका साथ स्वीकार गरेको हो । त्यहाँ उल्लेख भएका सुझावलाई सिर्जनात्मक ढङ्गले, रचनात्मक ढङ्गले लागू गर्ने हाम्रो प्रतिबद्धता हो । त्यो प्रतिबद्धताबाट पार्टी नेतृत्व किञ्चित मात्रै पनि पछि हट्दैन । किनभने हामीलाई चाहिएको छ पार्टी एकता । त्यस कारणले त्यो सुझावलाई कार्यान्वयन गर्नुपर्ने हाम्रो कर्तव्य हो । पार्टीको सङ्गठनात्मक संरचनाहरूलाई २०७५ जेठ २ मा पुर्‍याउनु भनेको म दुई वटा शब्द प्रयोग गर्न चाहान्छु– यो जेठ २ मा पुर्‍याउनु भनेको यसको पहिलो कुरा राजनीतिक तथा कानुनी अर्थ र मर्मका आधारमा यसलाई बुझ्न जरुरी छ । आजको एमाले २०७५ साल जेठ २ गतेको एमाले मात्रै होइन, यो विकसित एमाले हो । परिवर्तित र एकता प्रक्रियासहितको एमाले हो भन्ने कुरा बुझ्नु पर्दछ । यो एकता प्रक्रियासहितको एमाले हो भनेर नबुझ्ने हो भने यान्त्रिक ढङ्गले २०७५ साल जेठ २ मात्रै भनियो भने साँचो अर्थमा विकसित भएको एमालेलाई बुझ्न सकिँदैन । यो परिवर्तित र एकता प्रक्रियासहितको एमाले भनेर बुझ्न सकिँदैन र आजको आवश्यकता के हो भने यो परिवर्तित सन्दर्भको एमाले हो । एकता प्रक्रियासहितको एमाले हो ।’

महासचिव पोखरेलले पार्टी एकताको प्रमुख सर्त भनेको पार्टीको पक्षमा दृढतापूर्वक उभिनु रहेको बताउनुभयो । कुनै पनि सर्त राखेर पार्टीको पक्षमा नउभिने कुरा एकताको पक्षपाती हुन नसक्ने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने तथा फुट र विभाजनकारी गतिविधिलाई सहयोग पुर्‍याउने कुरालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो । 

महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन अवसरवादी र अनैतिक भएको टिप्पणी पनि गर्नुभयो । गठबन्धन संविधान, कानुन, लोकतान्त्रिक मूल्य मान्यताको विपरीत गएको बताउनुभयाे । उहाँले एमालेलाई आउँदा दिनमा सुदृढ बनाउनका लागि विचारमा स्पष्टता हुनुपर्ने, पार्टी सङ्गठन राज्यको संरचनासँग मिल्ने गरी बनाउनुपर्ने, पार्टीलाई विधिसम्मत ढङ्गले चलाउनुपर्ने, पार्टी सदस्यको वृद्धि र गुणस्तरियता साथै आर्थिक सामाजिक विकासमा अगुवाइ गर्ने पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया