अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

 असोज २, २०७८ शनिबार २०:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिइएको छ । ललितपुरमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठानमा आज शनिवार भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको हो । 

निवर्तमान अध्यक्ष ऐन महरले बैठकमा राजीनामा दिएपछि बरालको अध्यक्षतामा चार सय ६ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको सचिवालय सदस्य नारायण घर्तीले जानकारी दिनुभयो ।

पुनर्गठित केन्द्रीय कमिटीले नै आउँदाे अखिलको २३ औँ महाधिवेशन गराउने उहाँले बताउनुभयो । यस्तै उहाँका अनुसार बैठकले आउँदाे चैत २४ देखि २६ गतेसम्म अखिलको २३ औँ महाधिवशेन गर्ने निर्णय गरेको छ । अहिलेको महाधिवेशन विसं २०७३ यता हुनसकेको थिएन ।

नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव र उपाध्यक्ष भइसक्नुभएको छ । उहाँ अखिलमा महिलाबाट अध्यक्ष बन्ने तेस्रो हुनुहुन्छ । यसअघि रामकुमारी झाँक्री र नवीना लामा पनि अखिलको अध्यक्ष भइसकेका छन् । 

त्यस्तै सङ्गठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महासचिवमा समिक बडालले जिम्मेवारी पाएका छन् । अखिलबाट निवर्तमान अध्यक्ष ऐन महर, उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाले बिदा लिएका छन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया