मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन थालियाे

 असोज ४, २०७८ सोमबार १८:४८:० | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – गएकाे असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । 

बाढीका कारण झन्डै तीन महिना सडक बन्द थियो । सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ । 
मेलम्ची पुलबजारदेखि अम्बाथानसम्म २२ किमी सडकमध्ये १४ किमीमा ‘ट्र्याक’ खुलिसकेको छ । अब चनौटेबाट अघि आठ किमी सडक खुलाउन बाँकी रहेको छ । चनौटेमा रातो पुल बगाएपछि त्योभन्दा अगाडिको सडक खुलाउन नसकिएको हो ।   

पुलबजारदेखि ट्र्याक खोल्दै जाँदा चनौटेदेखि अम्बाथानसम्म थप दुई पुल बगाएको छ । त्यहाँ बेलिब्रिज नबनाएसम्म गाडी नचल्ने देखिएको छ । केही दिन पहिलेदेखि चनौटेसम्म गाडी चल्न थालेको छ । यहाँको न्वार खोलामा सडक कटान भएकाले अहिले साना गाडी मात्रै चलिरहेका छन् । त्यो मर्मत भएपछि ठूलो गाडी जान सक्नेछ । न्वार खोला क्षेत्रमा मर्मत गरिएपछि चनौटेसम्म नै ठूलो गाडी चल्न सक्ने बताइएको छ । चनौटेसम्म यात्रुवाहक बस चल्न थालेमा हेलम्बुका गाउँपालिकाका ४, ५, ६ र ७ का बासिन्दालाई सजिलो हुनेछ । केही समय पहिलेसम्म आवतजावत नै बन्द भएकामा अहिले काठको पुल राखेर सुरु गराइएको छ । 
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति भएको भनिए पनि त्यसको यकिन हुन सकिरहेको छैन । आयोजनास्थलसम्म पहुँच सडक सम्पन्न नभएकाले क्षति यकिन हुन नसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार पहिलेको पहुँच सडक पूरै पुरिएकाले नयाँ ट्र्याक खुलाउन लागिएको छ । पहिले सडक भएको ठाउँको नजिकै नै हुने गरी सडक खुलाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, सबै पुरिएकाले पहिले र अहिले भन्ने देखिएको छैन, त्यसैको हाराहारीमा खुलाइरहेको छौँ ।

पहिलो पटक गएकाे असार १ गते आएको बाढीले आयोजनामा क्षति पुर्‍याएकाे थियो । त्यति बेला झन्डै एक अर्ब रुपैयाँ क्षति भएको अनुमान गरिएको थियो । साउन महिनामा पटक–पटक बाढी जाँदा झन्डै दुई अर्ब ४० करोड रुपैयाँको क्षति भएको आयोजनाले जनाएको छ । प्रारम्भिक अनुमानका आधारमा क्षतिको अनुमान गरिएको भए पनि प्राविधिक आयोजनास्थलसम्म जान नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । पहुँच सडक बनेर त्यहाँसम्म पुगेपछि नै के–के क्षति भएको हो र त्यसको मर्मतमा कति खर्च लाग्छ भन्ने थाहा हुने उहाँले बताउनुभयो । 

आयोजनास्थलमा मर्मतको काम अघि बढाउन सुरु गरिए पनि त्यसमा सरकारको आफ्नै लगानी हुने कि दातृ निकायसँग सहयोग मागिने भनी टुङ्गो लाग्न सकेको छैन । आयोजनामा एडीबी बैंककाे सहयोग भएकाले पनि उसको सहयोग लिने कि सरकारको भन्नेबारे खर्च छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । पहिले कति खर्च लाग्छ भनी आयोजनाले अध्ययन गर्नेछ । उहाँले भन्नुभयो, त्यहाँ पुगेर समय र रकम थाहा भएपछि नै स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने थाहा हुन्छ ।          

आयोजनामा मात्रै नभएर त्यहाँका अरू पूर्वाधारमा क्षति पुगेकाले मन्त्रालयले सरोकार राख्ने निकायसँग छलफल अघि बढाएको छ । फरक–फरक पूर्वाधारको काम फरक मन्त्रालय र निकायले गर्नुपर्ने प्रवक्ता न्यौपानेले बताउनुभयो । सडक, पुल, खानेपानी सबै आयोजना एक्लैले गर्न नसक्ने भएकाले सबैको संयोजनमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । अहिले मन्त्रालयले ती निकायसँग कसले के गर्ने भनी छलफल गरिरहेको छ । उहाँले भन्नुभयो, एउटै मन्त्रालय र निकायसँग विशेषज्ञता पनि नहुने र समय बढी लाग्ने भएकाले सबै मिलेर छिटो गर्ने योजना छ ।

मेलम्ची आयोजनामा भएको क्षतिको विस्तृत अध्ययनका लागि एडीबी बैंकको सहयोगमा भौगर्भिक अध्ययन सुरु भएको छ । यो ठाउँमा पहिरो यो वर्ष मात्रै आएको हो कि अरू वर्षमा पनि खतरा छ भनेर अध्ययन गर्न लागिएको हो । यहाँको भूगोल, वातावरणीय अवस्थाका बारेमा अध्ययन गराउन बैंकलाई मन्त्रालयले अनुरोध गरेको थियो । उहाँले भन्नुभयो, एडीबीले विशेषज्ञसहित टोली राखेर अध्ययन गरिरहेको छ । 

गएकाे वर्ष काठमाण्डाै उपत्यकावासीले केही महिनासम्म मेलम्चीको पानी उपभोग गर्न पाएका थिए । यो वर्षभित्रमा पुनः पानी ल्याउने सरकारको योजना छ । सडक, पुललगायतका पूर्वाधार निर्माणमा समय लाग्ने भए पनि जतिसक्दो चाँडो पानी ल्याउन लागिने प्रवक्ता न्यौपानेले बताउनुभयो । पानी ल्याउन र अरू काम सम्पन्न गर्न फरक समय लाग्ने देखिएको छ । तत्काल पहुँच सडक बनाउन सकिएमा आयोजनाका संरचनामा रहेका अवरोध हटाएर पुनः पानी ल्याउन सकिन्छ । अहिले हेर्दा सडक र पुल सम्पन्न गरिसक्न लामो समय लाग्न सक्ने देखिएको छ । उहाँले भन्नुभयो, पानी जतिसक्दो चाँडो ल्याइनेछ भने मर्मतको काम पनि सुरु गरिनेछ । 

उपत्यकावासीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । यहाँको जनसङ्ख्या बढिरहँदा भएको स्रोत घट्दै गएकाले बर्सेनि खानेपानीको समस्या अझै विकराल बनिरहेको थियो । सरकारले दुई दशक पहिले मेलम्ची खोलाको पानी उपत्यकामा ल्याउने योजना बनाएको थियो । योजना निर्माण सुरु भएको लामो समयपछि बल्ल सम्पन्न भयो । झन्डै तीन महिना घरघरमा पानी आएकामा आयोजनाको परीक्षणकै क्रममा पहिरोले पुनर्संरचनामा क्षति पुर्‍याएकाे छ । काठमाण्डाैवासीले कहिलेसम्म पानी पाइन्छ भनेर चासो राखिरहँदा यहाँको क्षतिको मर्मत पनि सजिलो देखिएको छैन । 

उपत्यकामा रहेको खानेपानीको समस्या समाधानकै लागि मेलम्चीको पानीको विकल्पमा पनि छलफल भइरहेको छ । काठमाण्डाै उपत्यका र उपत्यका आसापासका क्षेत्रमा रहेका मुहानको खोजी गरेर त्यसको अध्ययन गर्ने गरी मन्त्रालयमा छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । आयोजनास्थलमा मर्मत गरिसक्न कम्तीमा पनि चैत महिनासम्म लाग्ने देखिएको छ । कताको पानी ल्याएर उपत्यकावासीलाई सजिलो बनाउने भनी विकल्पमाथि छलफल भइरहेको छ । मेलम्चीको विकल्पका विषयमा विगतमा पनि छलफल भइरहेकामा अहिले अध्ययनमा नै जाने योजना बनाइएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया