कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत १३ जिल्लामा वडा अधिवेशन अन्योल

 असोज ५, २०७८ मंगलबार ८:२५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया अन्तर्गत १३ जिल्लामा वडा अधिवेशन अन्योल भएको छ ।

क्रियाशील सदस्यता विवाद टुङ्गो नलाग्दा १३ जिल्लाको अधिवेशन अनिश्चित बनेको हो । विवाद रहेका जिल्लामा कार्यदलले निरन्तर छलफल गरिरहेको र एक/दुई दिनमै टुङ्गोमा पुग्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

आज विभिन्न ७ जिल्लामा वडा अधिवेशन हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवका अनुसार काठमाण्डौ, काभ्रे, मोरङ, बर्दिया, सिन्धुपाल्चोक, कपिलवस्तु र बाजुरामा वडा अधिवेशन हुन लागेको हो । प्रदेश-२ का आठ जिल्ला, सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यतामा विवाद छ ।

तीमध्ये धनुषा, कैलाली र डोल्पामा विवाद समाधान भइसकेको र अन्तिम टुङ्गोपछि निर्वाचन समितिलाई जानकारी गराउने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । विवाद समाधान भएको भनिए पनि निर्वाचन समितिलाई विवरण उपलब्ध गराइएको छैन ।

यसअघि भदौ १८, २२ र २५ मा गरी ५७ जिल्लामा वडा अधिवेशन भइसकेको छ । वडा अधिवेशनकै कारण समग्र महाधिवेशन कार्यतालिका प्रभावित नहुने संयोजक यादवले बताउनुभयो । कांग्रेसले असोज ९ मा गाउँ नगर अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।

कांग्रेसमा लामो समयदेखि क्रियाशील सदस्यता विवादले पटक-पटक महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएको छ । कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाण्डौमा १४ औं महाधिवेशन गर्ने तय गरेको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया