'साम्बा' भएको भए एसियन कपमा छनोट हुन्थ्यौँ : कप्तान नगरकाेटी

 असोज ७, २०७८ बिहिबार १५:४८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली महिला फुटबल टाेलीकी कप्तान

काठमाण्डाै – उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियन कप २०२२ छनोट खेलमा सहभागी भएर आज बिहीवार नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । सहभागी भएको छनोट प्रतियोगितामा सामान्य सावधानी अपनाउन नसक्दा टोली प्रतियोगिताबाट नै बाहिरिन पुग्यो । जसको अर्थ टोलीमा अनुभवको कमी निकै नै खड्कियो । 

उज्वेकिस्तानको भ्रमणलाई यादगार बनाउँदा बलिया टोलीमाथि नेपालले राम्रो प्रदर्शन गर्‍याे, यसमा कसैको दुई मत छैन । फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेको फिलिपिन्समाथि अन्तिम मिनेटसम्म अग्रता लिए पनि कायम राख्न नसक्दा पराजित हुन पुग्यो । त्यहाँ टोलीको अनुभव कमी रहेको स्पष्टै देखिन्थयो । 

दोस्रो खेलमा हङकङलाई गोलरहित बराबरीमा रोकेर पनि नेपालको अघिल्लो यात्रा बढ्न सकेन । पहिलो खेलमा नतिजा सुम्पिनु निकै दुर्भाग्य रह्यो । तर स्वदेश फर्किएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नयाँ खेलाडी भए पनि प्रदर्शन राम्रो गरेको भन्दै अनुभव दिलाउन धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताको खाँचो रहेको प्रतिक्रिया दिए ।

दक्षिण एसियामा सीमित हुँदै गरेको नेपालले एसियन छनोट खेल्नु एक ठूलो मौका र अनुभव सँगाल्ने खेलका रूपमा पनि हेरिएको थियो । दक्षिण एसियामा बलियो टोलीमा गनिने नेपालले अपेक्षाअनुसार प्रदर्शन गरे पनि लिएको अग्रता कायम राख्न नसक्नु टोलीको कमजोरी भएको मुख्य प्रशिक्षक फिलिप्सले थपे ।

यस्तै नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले घुँडाको शल्यक्रिया गरेर आराम गरिरहेकी स्ट्राइकर सावित्रा भण्डारीको कमी टोलीमा निकै भएको प्रतिक्रिया दिइन् । कप्तान नगरकोटीले सावित्रा टोलीमा भएको भए प्रतियोगितामा नेपाली टोली छनोट हुने थपिन् ।

भ्रमण समग्रमा राम्रो भएको तर छनोट हुने लक्ष्य भने अधुरो रहेको भन्दै उनले दुःख व्यक्त गरिन । आउँदा दिनमा अझै अगाडि बढ्न टोलीलाई अझै धेरै मेहनत खाँचो रहेको कप्तान नगरकाेटीले बताइन् ।

फिलिपिन्सविरुद्धको खेलमा लिड गरिरहे पनि अन्तिमतिर टोलीले लयलाई निरन्तरता दिन नसकेकाले नतिजा सुम्पिनु परेको उनले बताइन् । नगरकाेटीकाे प्रतिक्रियासँगै नेपालको कमी कमजोरी पनि छर्लङ्ग देखिएको छ । टोलीमा अनुभवको निकै खाँचाे रहेकाे पक्कै हो । सम्बन्धित निकायले टोलीको खेल विकासका लागि अन्तर्राष्ट्रिय भ्रमण तथा प्रतियोगिता धेरैभन्दा धेरै सञ्चालन गर्नुपर्ने देखिएको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया