रेमिट्यान्सको प्रयोग सही ठाउँमा गर्न परिवारका सदस्यले महत्वपूर्ण भूमिका खेल्नुपर्छ

 असोज १०, २०७८ आइतबार १४:१९:२ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

विक्रम विष्ट / दार्चुला, हाल कुवेत

वैदेशिक रोजगारीमा कमाएको पैसा कहाँ र कसरी लगानी गर्ने भन्ने कुरा एक महत्वपूर्ण विषय हो ।

वैदेशिक रोजगारीमा केही व्यक्तिले मात्रै लगानीयोग्य मुद्रा आर्जेका हुन्छन् । र बाँकी सबैले आर्जेको रकम घर व्यवहार गर्दै सकिन्छ । त्यसैले जति पनि कमाइ भएको छ त्यसलाई आम्दानीको स्रोतमा प्रयोग गर्ने निश्चित योजना नबन्दा दुःखको कमाई खेर जाने गरेको छ ।

नेपालमा लगानीको वातावरण पुरानै ढर्राको छ । अहिले पनि नेपालमा धेरै पुँजी लगानी गर्न सकेमा मात्रै व्यवसायी वा लगानीकर्ता बन्न सकिन्छ । जो सँग थोरै पुँजी छ उनीहरुले लगानी गरेर आय आर्जन गर्ने वातावरण बनेको छैन अझै पनि । फलतः नेपालमा विप्रेषण ठूलो राशीमा भित्रीए पनि स्वदेशी उत्पादकत्व वृद्धि भएको छैन । यसकारण श्रम र पुँजी दुवै पलायन हुनुपर्ने अवस्था छ । 

वैदेशिक रोजगारीमा कमाइने पैसालाई लगानी गरिदिने नेपालमा कुनै आफन्त वा मान्छे हुन आवश्यक छ । आफूले कमाएर आफैले लगानी गरुँला र फेरि त्यसैबाट कमाउँला भन्ने मानसिकता ठीक होइन । यसले उमेर पनि ढल्किने, पैसाको सदुपयोग पनि नहुने र अन्तमा फेरि उही पुरानै हालतमा पुगिने अवस्था हुन्छ ।

त्यसैले वैदेशिक रोजगारीमा गएको व्यक्तिले पठाएको रकमलाई उत्पादनमूलक काममा लगाइदिने कोही भए झनै राम्रो हुन्छ । त्यसबाट भएको आम्दानीबाट आफ्नो पारिश्रमिक राख्ने र बाँकी लगानीमा परिवर्तन गरिदिने आफन्त भए सजिलो हुन्छ । परिवारकै सदस्यले यति गर्न सक्नुहुन्छ भने त झनै राम्रो भइहाल्यो ।

वैदेशिक रोजगारीको आम्दानी अधिकांशले घर घडेरी जोड्नमा लगाएको देखिन्छ । तर घर घडेरीमा गरेको खर्चले अल्पकालीन तामझाम देखाउनलाई मात्रै मद्दत गर्छ । हामी सबै नेपालीले राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्ने हिसाबले लगानीको विकल्प खोज्ने र त्यस किसिमको वातावरण नेपालमा बन्न जरुरी छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया