एमाले विधान महाधिवेशनका दृश्य

 असोज १६, २०७८ शनिबार ७:३६:१९ | रासस
unn.prixa.net

काठमाण्डाै - निर्माणपछिको पहिलो र ठूलो कार्यक्रम आयोजना भएको ललितपुरको गोदावरीमा रहेकाे सनराइज सम्मेलन केन्द्रमा केही दिनयतादेखि नै चहलपहल भएको थियो भने हिजाे मध्याह्नसम्म त मानिसले खुट्टा टेक्नै ठाउँ पाउन नै मुस्किल पर्ने गरी सभाहल र परिसर भरियो ।

ललितपुरको सातदोबाटो, हरिसिद्धि र गोदावरीका विभिन्न चोक र ठाउँमा तथा सम्मेलनस्थलको मूल प्रवेशद्वारमा टाँगिएका नेकपा (एमाले)को ऐतिहासिक प्रथम विधान महाधिवेशनका नामका  स्वागत ब्यानर र कम्युनिस्ट पार्टीको हँसिया हथौडायुक्त झण्डा तथा निर्वाचन चिह्न सूर्यले ती ठाउँ राताम्य देखिएका थिए ।

मध्याह्न १२:१५ बजे उद्घाटन हुने भएको महाधिवेशनमा सहभागीको नाम दर्ता र मञ्च व्यवस्थापनका कार्य जारी रहँदा तथा यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीको आगमनको प्रतिक्षा गर्दा दिउँसोको १ः१५ भइसकेको थियो ।

अध्यक्ष ओली आएपछि हलमा राष्ट्रिय गान, कम्युनिस्टको अन्तर्राष्ट्रिय गान गाएपछि कम्युनिस्ट पार्टीका अग्रजहरू पुष्पलाल, मनमोहन अधिकारी, जननेता मदनकुमार भण्डारी तथा ज्ञात अज्ञान सहिदका नाममा एक मिनेट मौन धारण गरेपछि उद्घाटन सत्रको औपचारिकता सुरु भएको थियो ।

साथै नवौँ महाधिवेशनयता दिवङ्गत हुनुभएका केन्द्रीय कमिटीका सदस्यहरू रामनाथ ढकाल, महिन सुब्बा लिम्बु, रवीन्द्र अधिकारी, दिनेशचन्द्र यादव, पशुपति चौलागाईँ र योगनारायण यादव लगायतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । पूर्ण हाइटेकयुक्त याे हलकाे प्यासेजमा पनि सहभागी बस्ने र त्यहाँ प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको थियो । देशका सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न एमालेको विधान महाधिवेशन भएको हो ।

उद्घाटन सत्रको सञ्चालन गर्दै एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले पार्टीको विधानमा राष्ट्रिय परिषद्का सदस्य मात्रै विधान महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था रहेको त्यसकाे बाधा अड्काउन फुकाउका लागि प्रस्ताव प्रस्तुत गरी पारित गराइएको थियो । याे नयाँ व्यवस्थाले एकताको प्रक्रियामा आएका र सङ्घीयता अनुकूलको पार्टी संरचनाका आधारमा छानिएका छ हजार ३४७ प्रतिनिधि वैध साबित भएका थिए ।

महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ओलीको अध्यक्षतामा सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डलको घोषणा गरियो ।

यस्तै प्रस्ताव मस्यौदा कमिटीमा नेताहरू डा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कँडेल, डा राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारीलाई जिम्मेवारी दिइयो । सुझाव अध्ययन कमिटीमा नेताहरू शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा शिवमाया तुम्बाहाम्फे रहेको समिति बनाइयो ।

बहस नोट कमिटीमा मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजङ्ग थापा, सीता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगरलाई चयन गरिएको थियो । प्रचार समन्वय कमिटीका  लागि योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापालाई जिम्मेवारी दिइयो ।

तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिनको बन्द सत्रमा अध्यक्ष शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

अहिले बिहान ८ बजेदेखि सुरु हुने दोस्रो दिन प्रस्तुत दस्ताबेजमाथि छलफल गर्न प्रतिनिधिलाई १० वटा समूहमा विभाजन गरिएको प्रचार विभागका प्रमुख भट्टराईले जानकारी दिनुभयो । तेस्रो दिन असोज १७ गते दस्ताबेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसङ्क्षेपीकरण गरिनेछ । 

महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ । पार्टीबाट बाहिरिएर भर्खरै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका बेला देशभरका प्रतिनिधिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले विधान महाधिवेशन आयोजना गरेको हो । महाधिवेशनमा विगतमा नेता नेपाल निकट रहेका नेता कार्यकर्ताको पनि उपस्थितिले पार्टीमा नयाँ स्तरको घुलमिल र एकता भाव देखिएको छ ।

विधान महाधिवेशनमा याे पार्टीको केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेसागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारत लगायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्य प्रतिनिधि छन् ।

तस्बिर : रासस

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया