पानी पर्न नरोकिएपछि सडकका खाल्डाखुल्डी पुर्न ढिलाइ : दशैँसम्म मर्मत भइसक्ने सडक विभागको दाबी

 असोज १७, २०७८ आइतबार १०:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पानी परिरहँदा बिग्रे भत्केका सडक मर्मतमा समस्या भएको छ । यसपटक मनसुन लम्बिएको र निरन्तर पानी परेकाले दशैँका लागि सडक मर्मत तथा सरसफाइको काम छिटो गर्न नसकिएको सडक विभागले जनाएको छ । तर दशैँसम्ममा मर्मत तथा खाल्डाखुल्डी पुरिसक्ने गरी तयारी अवस्थामा बसेको विभागको दाबी छ ।

असार, साउन र भदौमा निरन्तरको वर्षाले भत्केका मुख्य राजमार्ग तथा सडकमध्ये बेसीसहर–चामेबाहेक अरु सबैको मर्मत भइसकेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनुभयो । उहाँका अनुसार बेसीसहर–चामे सडक पनि दुई/तीन दिनमा खुलाउने गरी काम भइरहेको छ । अरु मुख्य राजमार्ग तथा सडकका खाल्डाखुल्डी पुर्ने काम दशैँसम्ममा हुनेछ । 

दशैँका लागि काठमाण्डौबाट यात्रुहरु बाहिरिन थालेका छन् । तर मुख्य सडक खाल्डाखुल्डीले धराप जस्ता बनेको यात्रु तथा गाडीधनीको गुनासो छ । यातायात व्यवसायीले यसअघि नै सडक मर्मत गरी सहज बनाउन सरकारसँग माग राखेका थिए । तर सडक विभागले अझै मर्मतको काम थाल्न सकेको छैन ।

‘पानी रोकिएको छैन, यो बेलामा हतार गरी खाल्डा पुर्न थाले पानी जमेर मर्मतको काम टिकाउ हुँदैन’ उपमहानिर्देशक अधिकारीले भन्नुभयो,‘जनशक्ति र उपकरण तयारी अवस्थामा राखेकाले मनसुन बाहिरिनेबित्तिकै सबैतिर धमाधम काम सुरु हुनेछ ।’ 

यसपालि गएको जेठ २८ गतेदेखि सुरु भएको मनसुन अक्टोबर २ अर्थात असोज १६ गते बाहिरिने अनुमान थियो । तर मनसुन लम्बियो । आज अक्टोबर ३ सम्म पनि पानी पर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले विभागले सोचेअनुसार काम गर्न नसकेको अधिकारीको भनाइ छ । साथै देशभरका मर्मत आवश्यक सबै राजमार्गमा एकैपटक काम गर्ने विभागको योजना छ ।

बुटवल–नारायणगढ, नारायणगढ–काठमाण्डौ खण्डको ठाउँ ठाउँमा पहिरो र खाल्डाखुल्डी छन् । काठमाण्डौ जोड्ने मुख्य सडक नै खराब हुँदा यात्रु र गाडीधनीले समेत सास्ती खेप्दै आएका छन् । डिभिजन सडक कार्यालय चितवनले यो सडकमा मर्मत तथा सुधारको काम भइरहेको जनाएको छ । यसपालिको बर्खामा पहिरो र ठाउँ–ठाउँमा सडक भासिएकाले यो सडकको यात्रा कठिन छ ।

‘सडक मर्मतसम्भार नियमित प्रक्रिया नै हो । बर्खा लगत्तै चाडपर्व आउने भएकाले यो बेलामा बिग्रे भत्केको मर्मत गर्नुपर्ने हुन्छ ।' उपमहानिर्देशक अधिकारीले भन्नुभयो,‘ साउनमै ठेक्कापट्टा लगाएर तयारी अवस्थामा छौँ, मनसुन बाहिरिएको एक हप्तामा धेरै सडक खाल्डाखुल्डीरहित बनाउँछौँ।’

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया